युरोपमा सैन्य कटौती गर्दै अमेरिका: जर्मनीबाट ५ हजार सैनिक फिर्ता हुने


प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार

अमेरिकाले जर्मनीबाट ५,००० सैनिक फिर्ता बोलाउने भएको छ। पेन्टागनका प्रवक्ता सीन पार्नेलले रक्षा मन्त्री पिट हेगसेथको निर्देशनमा यो निर्णय भएको बताए।

उनले भने, “यो निर्णय युरोपमा हाम्रो सैन्य संरचनाको विस्तृत समीक्षापछि गरिएको हो। यसमा त्यहाँका आवश्यकता र अवस्थालाई ध्यानमा राखिएको छ।” उनका अनुसार सैनिक फिर्ताको प्रक्रिया ६ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको छ।

यो निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मनीका चान्सलर फ्रिड्रिख मेर्ज़बीच इरान युद्धसम्बन्धी विवाद बढिरहेका बेला आएको हो। मेर्ज़ले इरानी वार्ताकारहरूले अमेरिकालाई “अपमानित” गरेको बताएका थिए। सामाजिक सञ्जालमा ट्रम्पले मेर्ज़ले धेरै खराब काम गरिरहेका छन् भन्दै आलोचना गरे।

गत डिसेम्बरसम्म जर्मनीका विभिन्न सैन्य आधारहरू (बेस) मा करिब ३६,००० अमेरिकी सैनिक तैनाथ छन्, जसले त्यहाँ अमेरिकाको ठूलो सैन्य उपस्थिति देखाउँछ। नेटो गठबन्धनका आलोचक ट्रम्पले सहयोगी राष्ट्रहरूले होर्मुज जलमार्ग पुनः खोल्ने अभियानमा साथ नदिएको भन्दै आक्रोश व्यक्त गरिरहेका छन्।

मेर्ज़ले यसै साता विद्यार्थीहरूसँग कुरा गर्दै अमेरिकासँग स्पष्ट रणनीति नभएको र उनीहरूले कस्तो रणनीतिक निकास रोज्छन् भन्ने कुरा समेत प्रस्ट नभएको बताएका थिए। जर्मनीमा अमेरिकाको सैन्य उपस्थिति युरोपकै सबैभन्दा ठूलो हो। इटालीमा करिब १२,००० र बेलायतमा १०,००० सैनिक तैनाथ छन्।

गत वर्ष अमेरिकाले रोमानियामा आफ्नो सैनिक उपस्थिति घटाउने निर्णय गरेको थियो। यसले युरोपबाट इन्डो-प्यासिफिक क्षेत्रमा ध्यान केन्द्रित गर्ने रणनीति देखाउँछ।

यो निर्णयको ट्रम्पकै रिपब्लिकन पार्टीका केही सांसदहरूले पनि आलोचना गरेका थिए। पूर्वी युरोपका केही देशहरूले यसबाट रुसको सम्भावित खतरा बढ्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com