अमेरिकाको हाई स्कुलमा छुरा प्रहार: पाँच जना घाइते, शंकास्पद विद्यार्थी पक्राउ


प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार

Washington police

अमेरिकाको एक हाई स्कुलमा भएको छुरा प्रहारबाट कम्तीमा पाँच जना घाइते भएका छन्। वाशिङ्टन राज्यको टाकोमा शहरस्थित एक हाई स्कुलमा भएको छुरा प्रहारको घटनामा कम्तीमा पाँच जना घाइते भएका अधिकारीहरूले बताएका हुन्।

यो घटना हेनरी फस हाई स्कुलमा भएको हो। टाकोमा प्रहरी विभागकी प्रवक्ता शेल्बी बॉयडका अनुसार विद्यालयमा छुरा प्रहार र झडपको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो।

प्रहरी पुग्दा चार जना विद्यार्थी र एक जना क्याम्पस सुरक्षा कर्मचारी घाइते अवस्थामा फेला परेका थिए। पाँचै जना पीडित र एक जना शंकास्पद व्यक्तिलाई छुरा वा धारिलो वस्तुले घाइते बनाइएको थियो। शंकास्पद व्यक्ति पनि सोही विद्यालयका एक विद्यार्थी रहेको र उनलाई घटनास्थलमै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घाइते पाँचै जना र शंकास्पद व्यक्तिलाई उपचारका लागि अस्पताल पठाइएको छ। दमकल विभागकी प्रवक्ता चेल्सी शेफर्डका अनुसार चार जनाको अवस्था गम्भीर रहेको छ भने एक जनालाई सामान्य चोट लागेको छ। शंकास्पद व्यक्तिलाई पनि सामान्य चोट लागेको र उपचारपछि प्रहरी नियन्त्रणमा राखिएको छ।

प्रहरीका अनुसार शंकास्पद नाबालिग व्यक्तिविरुद्ध पहिलो दर्जाको आक्रमणसम्बन्धी पाँच वटा मुद्दा दर्ता गरिएको छ। घटनाको कारण भने अझै स्पष्ट भएको छैन। अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। टाकोमा शहर सियाटलबाट करिब ३० माइल दक्षिणमा पर्दछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com