अमेरिकी रक्षामन्त्री हेगसेथमाथि गम्भीर आरोप: इरान युद्धबारे राष्ट्रपतिलाई गलत जानकारी दिएको दाबी


प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार

अमेरिकी रक्षा मन्त्री पीट हेगसेथ

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानसँगको युद्धबारे सही जानकारी नदिएको भन्दै सांसदहरूले प्रश्न उठाएका छन्।

हेगसेथले राष्ट्रपतिलाई खतरनाक रूपमा अतिरञ्जित बयान दिएर अमेरिकी सैन्य विजयको गलत चित्र प्रस्तुत गरेको आरोप एकजना वरिष्ठ डेमोक्र्याट सांसदले लगाएका हुन्।

सिनेट सशस्त्र सेवा समितिका वरिष्ठ डेमोक्र्याट सदस्य ज्याक रिडले संसदीय सुनुवाइमा रक्षामन्त्री हेगसेथलाई अमेरिकी नागरिकहरूले समर्थन नगरेको युद्धको मूल्य इन्धनको मूल्य वृद्धि मार्फत तिर्नुपरेको बताए।

अमेरिकी परिवारहरूले आफूले नचाहेको र कुनै लाभ नपाएको युद्धको लागत व्यहोर्न बाध्य भएको भन्दै उनले एक महिनाअघि नै विजय घोषणा गरेकोमा हेगसेथको आलोचना गरे। यो टिप्पणी हेगसेथ र ड्यान केनद्वारा प्रस्तुत गरिएको पेन्टागनको १.४५ ट्रिलियन डलरको सैन्य बजेट सम्बन्धी सुनुवाइको दोस्रो दिनको सुरुवातमा आएको हो।

प्रतिनिधिसभामा भएको सुनुवाइ पनि छिट्टै इरानसँगको युद्धलाई लिएर विवादमा परिणत भएको छ। आठ हप्तादेखि जारी युद्ध अहिले ठप्प अवस्थामा पुगेको छ। इरानस्थित शासनले रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलमार्ग बन्द गरेको छ।

रिडले डोनाल्ड ट्रम्पमाथि स्पष्ट रणनीति बिना युद्ध सुरु गरेको, अमेरिकी जनतालाई विश्वासमा नलिएको र कंग्रेससँग परामर्श नगरेको आरोप लगाए। उनले हेगसेथमाथि राष्ट्रपति ट्रम्पलाई आवश्यक सत्य जानकारी नदिई “सुन्न चाहेको कुरा मात्र सुनाउने” गरेको आरोप पनि लगाए।

“इरानको कडा शासन अझै कायम छ, यससँग अझै समृद्ध युरेनियम भण्डार छ र यसको आणविक कार्यक्रम पनि जीवितै छ,” रिडले भने।

उनले हेगसेथले सैनिकहरूको सुरक्षाभन्दा व्यक्तिगत प्राथमिकतामा ध्यान दिएको आरोप लगाए। पेन्टागनको धार्मिक सेवामा परिवर्तन, फ्लु खोपको अनिवार्यता हटाउने र केही विश्वविद्यालयहरूमा सैनिकहरूको सहभागिता रोक्ने जस्ता निर्णय यसैका उपज भएको दाबी उनले गरे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हेगसेथले भने विपक्षीहरूलाई “पराजयवादी” भन्दै आलोचना गरे। उनले विपक्षीहरूले युद्ध प्रयासलाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाए। सर्वेक्षणहरूले अधिकांश अमेरिकी जनता यो युद्धको विपक्षमा रहेको देखाएका छन्।

विशेष गरी आर्थिक प्रभाव र ठूलो द्वन्द्वको जोखिमका कारण अमेरिकीहरूले युद्ध नचाहेको सर्भेक्षणले देखाएको छ। हेगसेथले सार्वजनिक समर्थन कमजोर देखिनुको कारण डेमोक्र्याट र सञ्चारमाध्यमलाई दोष दिएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com