जर्मनीबाट अमेरिकी सैनिक घटाउने ट्रम्पको सङ्केत: चान्सलर मर्जसँगको विवादपछि समीक्षा सुरु
प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार
अमेरिकाले जर्मनीमा तैनाथ सैनिक घटाउने विषयमा अध्ययन र समीक्षा गरिरहेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत जर्मनीमा तैनाथ अमेरिकी सैनिक घटाउने वा नघटाउने विषयमा अध्ययन गरिरहेको बताएका हुन्।
जर्मनीका चान्सलर फ्रिडरिख मर्जले इरान युद्धसम्बन्धी ट्रम्पको नीतिको आलोचना गरेको केही दिनपछि ट्रम्पको यो भनाइ आएको हो। मर्जले अमेरिकी पक्षलाई इरानी वार्ताकारहरूले “अपमानित” गरेको बताएका थिए।
ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै सैनिक सङ्ख्यासम्बन्धी निर्णय “छिट्टै” गरिने बताएका थिए। त्यसको भोलिपल्ट उनले मर्जमाथि थप आलोचना गर्दै रुस–युक्रेन युद्ध अन्त्य गर्न “पूर्ण रूपमा असफल” भएको आरोप लगाए।
अमेरिकाको जर्मनीमा ठूलो सैन्य उपस्थिति छ। गत डिसेम्बरसम्म ३६ हजारभन्दा बढी सक्रिय सैनिक विभिन्न आधार शिविरहरूमा तैनाथ छन्। ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै मर्जले “खराब काम गरिरहेको” र आप्रवासन तथा ऊर्जा जस्ता विषयमा समस्या झेलिरहेको बताएका थिए। साथै उनले इटाली र स्पेनबाट पनि सैनिक फिर्ता गर्ने सम्भावनातर्फ सङ्केत गरेका छन्।
उनले इटाली र स्पेनले इरान युद्धमा अमेरिकालाई सहयोग नगरेको आरोप लगाए। यता मर्जले भने उत्तरी जर्मनीमा सैनिक भेटघाटका क्रममा ट्रम्पको भनाइबारे प्रतिक्रिया नदिए पनि नेटो गठबन्धन र “ट्रान्स–एटलान्टिक एकता” को महत्त्वमा जोड दिएका थिए। यसअघि उनले अमेरिकी रणनीतिबारे प्रश्न उठाउँदै “अमेरिकासँग स्पष्ट रणनीति छैन” भनेका थिए। साथै उनले इरानलाई वार्तामा चतुर भएको आरोप लगाएका थिए।
ट्रम्पले जर्मनीको आर्थिक अवस्था पनि कमजोर भएको दाबी गरेका छन्। जर्मनी, बेलायत र फ्रान्सले सन् २०१५ मा इरानसँग आणविक कार्यक्रम सीमित गर्ने सम्झौतामा सहभागिता जनाएका थिए। तर ट्रम्पले सन् २०१८ मा अमेरिकालाई उक्त सम्झौताबाट बाहिर निकालेका थिए।
युरोपमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य उपस्थिति जर्मनीमै छ। इटालीमा करिब १२ हजार र बेलायतमा करिब १० हजार अमेरिकी सैनिक तैनाथ छन्। जर्मनीको रामस्टाइन हवाई आधार शिविर प्रमुख सैन्य केन्द्रहरूमध्ये एक हो।
यसअघि सन् २०२० मा पनि ट्रम्पले १२ हजार सैनिक हटाउने प्रस्ताव गरेका थिए। तर अमेरिकी संसद्ले रोक लगाएपछि त्यो योजना कार्यान्वयन हुन सकेन र पछि राष्ट्रपति जो बाइडनले त्यसलाई उल्ट्याएका थिए।
ट्रम्पले त्यतिबेला जर्मनीले नाटोको लक्ष्यअनुसार रक्षा खर्च नगरेको भन्दै आलोचना गरेका थिए। तर अहिले मर्ज सरकारअन्तर्गत जर्मनीको रक्षा खर्च उल्लेखनीय रूपमा बढ्दै गएको छ।





