सू चीलाई घरमै नजरबन्दमा सारिएको सैन्य सरकारको दाबी, छोराद्वारा सार्वजनिक तस्बिरमाथि शंका
प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार
म्यानमारकी पूर्व नेतृ आङ सान सू चीलाई घरमै नजरबन्द (हाउस अरेस्ट) मा सारिएको छ। सरकारी सञ्चारमाध्यमले सू चीलाई यसअघि नै नजरबन्दमा राखिएको बताएका छन्।
८० वर्षीया नोबेल शान्ति पुरस्कार विजेता सू ची सन् २०२१ मा भएको सैन्य ‘कू’ मार्फत सत्ताच्युत गरिएदेखि नै हिरासतमा थिइन्। उनलाई राजधानी नेपीडोस्थित कुनै सैनिक जेलमा राखिएको अनुमान गरिएको थियो। सैन्य नेता मिन आङ ह्लाइङद्वारा जारी वक्तव्यमा सू चीको बाँकी सजाय निर्धारित निवासमा बसेर पूरा गर्ने गरी परिवर्तन गरिएको उल्लेख छ।
सू ची सन् २०१५ मा म्यानमारमा प्रजातान्त्रिक सुधार सुरु भएपछि सत्तामा आएकी थिइन्। त्यसअघि उनी प्रजातन्त्र पक्षधर अभियन्ताका रूपमा दशकौंसम्म सक्रिय रहिन् र सैनिक शासनका क्रममा १५ वर्षभन्दा बढी समय घरमै नजरबन्दमा बिताएकी थिइन्। सरकारी सञ्चारमाध्यमले उनी दुई जना पोसाकधारी सुरक्षाकर्मीसँग बसेको एउटा तस्बिर सार्वजनिक गरेको छ।
उनका छोरा किम एरिसले भने यस घोषणाप्रति शंका व्यक्त गरेका छन्। उनले आफूले आमाको अवस्थाबारे कुनै ठोस प्रमाण नपाएको र सार्वजनिक गरिएको तस्बिर सन् २०२२ कै भएको दाबी गरे।
घोषणा हुनुअघि सू चीको स्वास्थ्य अवस्था वा बसोबासबारे कुनै जानकारी उपलब्ध थिएन। उनका छोराले गत डिसेम्बरमा आफूले वर्षौँदेखि आमासँग सम्पर्क गर्न नसकेको बताएका थिए।
उनको कानुनी टोलीले पनि उनलाई घरमै नजरबन्दमा राखिएकोबारे कुनै औपचारिक सूचना नपाएको बताएको छ। सन् २०२१ मेमा अदालतमा उपस्थित भएको बाहेक सू चीको हालसम्म कुनै नयाँ तस्बिर वा सार्वजनिक अभिव्यक्ति आएको थिएन। उनलाई सैन्य सरकारले विभिन्न मुद्दामा दोषी ठहर गर्दै ३३ वर्षको सजाय सुनाएको थियो, जसलाई पछि केही हदसम्म घटाइएको छ।
हाल सरकारी सञ्चारमाध्यममा उनको अचानक चर्चा हुनुले उनको स्थितिमा थप परिवर्तन हुन सक्ने, सम्भवतः आंशिक वा पूर्ण रिहाइको तयारी भइरहेको सङ्केत मिलेको विश्लेषण गरिएको छ।
सैन्य नेता मिन आङ ह्लाइङ अन्तर्राष्ट्रिय एक्लोपन अन्त्य गर्न चाहन्छन्। हालका दिनमा सशस्त्र विपक्षी समूहविरुद्ध केही सफलता पाएपछि उनी थप आत्मविश्वासी देखिएका छन्।
यसै वर्ष सैन्य सरकारले चुनावसमेत गराएको थियो, जसले देखावटी रूपमा प्रजातान्त्रिक सरकार पुन:स्थापना गरे पनि वास्तविक शक्ति भने सेनाकै नियन्त्रणमा रहेको छ।





