अमेरिकामा ७५ दिन लामो होमल्याण्ड सेक्युरिटीको शटडाउन अन्त्य, दुईदलीय विधेयकमा ट्रम्पद्वारा हस्ताक्षर


प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार

white concrete building under clear blue sky

तस्बिर: अलेजान्ड्रो बार्बा

अमेरिकी सांसदहरूले ७५ दिन लामो आंशिक सरकारी बन्द अन्त्य गर्ने पक्षमा मतदान गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन कार्यान्वयन नीतिलाई लिएर भएको विवादका कारण ७५ दिनसम्म आंशिक सरकारी बन्द चलेको थियो।

प्रतिनिधि सभाले सिनेटबाट पारित विधेयकलाई अनुमोदन गर्दै ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ (डीएचएस) लाई पुनः सञ्चालन गर्नका लागि राष्ट्रपतिसमक्ष पठाएपछि ट्रम्पले त्यसमा बिहिबार दिउसो हस्ताक्षर गरेका थिए। यो विधेयकले डीएचएसलाई पुनः सञ्चालनमा ल्याए पनि आप्रवासन तथा भन्सार कार्यान्वयन निकाय (आइस) र सीमा सुरक्षा निकाय (सीबीपी) का लागि भने बजेट उपलब्ध गराएको छैन। यी दुई निकाय आप्रवासन कार्यान्वयनका मुख्य जिम्मेवार एजेन्सी हुन्।

मिनेसोटामा संघीय आप्रवासन अधिकारीहरू संलग्न दुई घातक गोलीकाण्डपछि सुधारको माग गर्दै डेमोक्र्याटहरूले यी निकायहरूलाई बजेट दिन अस्वीकार गरेका थिए। तर रिपब्लिकनहरू पूर्ण बजेटको पक्षमा उभिँदा विवाद चर्किएको थियो।

अब यी दुई एजेन्सीका लागि थप बजेट अर्को विधेयकमार्फत दिने योजना छ। यो विधेयक हाल प्रतिनिधि सभामा विचाराधीन छ। यसैबीच, गत वर्ष पारित कर कटौतीसम्बन्धी विधेयकमार्फत कंग्रेसले १७० बिलियन डलर रकम आप्रवासन कार्यान्वयनका लागि स्वीकृत गरिसकेको छ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी गत फेब्रुअरी १४ देखि नियमित बजेटबिना सञ्चालन भइरहेको थियो। जसका कारण अमेरिकाका विमानस्थलहरूमा लामो लाइन र अव्यवस्था देखिएको थियो। तर बिहीबारको मतदानले यो समस्या अन्त्य गरेको छ। सुरक्षा जाँचमा खटिएका कर्मचारीहरूले अब समयमै तलब पाउनेछन्।

मार्च महिनामा विमानस्थलमा लामो लाइन भएपछि ट्रम्पले विमानस्थल सुरक्षा प्रशासन (टीएसए) का कर्मचारीलाई तलब दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। उनीहरूलाई अत्यावश्यक कामदार मानिन्छ, जसले सरकारी बन्द हुँदा पनि बिना तलब काम गर्नुपर्ने हुन्छ।

यसैबीच, ह्वाइट हाउसले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको आकस्मिक कोष सकिन लागेको चेतावनी दिएको थियो। वासिङ्टनमा आयोजित एक कार्यक्रममा ट्रम्पमाथि आक्रमणको प्रयास भएपछि सुरक्षा खर्चबारे चिन्ता अझ बढेको थियो।

प्रतिनिधि सभाका सभामुख माइक जोनसनले लामो समयसम्म यो विधेयकलाई मतदानमा ल्याउन अस्वीकार गरेका थिए, तर अन्ततः उनी सहमत भएका छन्। उनले भने, “अब विमानस्थल सुरक्षा जाँचमा लाइन लाग्ने छैन, सबैले आफ्नो तलब पाउनेछन्।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डेमोक्र्याटहरूले भने यो बन्द अनावश्यक रूपमा लम्बिएको आरोप लगाएका छन्। सिनेटकी शीर्ष डेमोक्र्याट प्याटी मरेले यो विधेयक पाँच हप्ताअगाडि नै सर्वसम्मत पारित भएको स्मरण गराइन्।

अब रिपब्लिकनहरूले आप्रवासन तथा सीमा सुरक्षा निकायका लागि ट्रम्पको कार्यकालभरि ७० बिलियन डलरसम्म बजेट स्वीकृत गराउने प्रयास गरिरहेका छन्। डेमोक्र्याटहरूले भने कडा निगरानी र सीमित कार्यान्वयनको माग यथावत रहेको बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com