अमेरिकाद्वारा ट्रम्पको तस्बिर अंकित विशेष पासपोर्ट सार्वजनिक गर्ने तयारी
प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार
अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अंकित नयाँ राहदानी (पासपोर्ट) सार्वजनिक गर्ने तयारी गरेको छ। यो विशेष पासपोर्ट सीमित सङ्ख्यामा मात्र जारी गरिने अधिकारीहरूले बताएका हुन्।
आगामी जुलाईमा हुने अमेरिकी स्वतन्त्रता घोषणाको २५०औँ वार्षिकोत्सवका अवसरमा यी पासपोर्टहरू वितरण गरिनेछन्। नयाँ डिजाइनका राहदानीहरू जारी भएपछि आवेदन दिने कुनै पनि अमेरिकी नागरिकले यो प्राप्त गर्न सक्नेछन्। यसको उपलब्धता रहुञ्जेल वितरण जारी रहने बताइएको छ। यी पासपोर्टहरू वासिङ्टन राहदानी एजेन्सीबाट मात्र उपलब्ध हुनेछन्।
अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको नमुनाअनुसार राहदानीमा ट्रम्पको तस्बिर, स्वतन्त्रता घोषणाको पाठ, अमेरिकी झण्डा र सुनौलो रङ्गमा राष्ट्रपतिको हस्ताक्षर समावेश गरिएको छ। ह्वाइट हाउसका प्रवक्ताले राष्ट्रपतिको यो नयाँ ‘देशभक्तिपूर्ण’ पासपोर्टले अमेरिकाको २५०औँ जन्मदिनको भव्य उत्सवमा सहभागी हुने उत्कृष्ट अवसर प्रदान गर्ने बताएका छन्।
हाल प्रयोगमा रहेका अमेरिकी पासपोर्टहरूमा चन्द्रमा अवतरण जस्ता ऐतिहासिक दृश्य र स्ट्याच्यु अफ लिबर्टी जस्ता प्रतीकहरू रहेका छन्। नागरिकहरूले यो विशेष पासपोर्ट रोज्न पाउने वा नपाउने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।
यो कदमलाई ट्रम्प प्रशासनले सरकारी कार्यक्रम र सार्वजनिक संरचनाहरूमा ट्रम्पको नाम र तस्बिर जोड्ने प्रयासको पछिल्लो उदाहरणका रूपमा हेरिएको छ। अमेरिकी टक्सारले पनि २५०औँ वार्षिकोत्सवको अवसरमा ट्रम्पको तस्बिर भएको सुनको सिक्का जारी गर्ने योजना बनाएको छ। साथै, ट्रम्प अमेरिकी मुद्रामा हस्ताक्षर हुने पहिलो बहालवाला राष्ट्रपति बन्ने तयारीमा छन्।
यसैबीच, केनेडी सेन्टरको बोर्डले उक्त सांस्कृतिक केन्द्रको नाम ‘ट्रम्प–केनेडी सेन्टर’ राख्ने निर्णय गरेको छ। स्वर्गीय राष्ट्रपति जोन एफ केनेडीको परिवारले भने यो कदमको आलोचना गरेका छन्।





