बजेट विवादले नौ हप्तादेखि ठप्प डीएचएस: विश्वकप सुरक्षाका लागि डीएचएस खोल्न ह्वाइट हाउसको ‘अल्टिमेटम’
प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार
ह्वाइट हाउसका अधिकारीहरूले ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ (डीएचएस) लाई पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउनु “अत्यावश्यक” भएको बताएका छन्।
यसै गर्मी याममा आयोजना हुने विश्वकपको तयारी र हालै वासिङ्टन डीसीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको हत्या प्रयासको घटनापछि यस्तो धारणा सार्वजनिक भएको हो।
अमेरिकी कंग्रेसका सदस्यहरूबीच बजेटसम्बन्धी विवादका कारण उक्त विभाग विगत नौ हप्तादेखि आंशिक रूपमा बन्द (सटडाउन) अवस्थामा छ।
अभियोजकका अनुसार ३१ वर्षीय कोल थोमस एलेनले शनिबार आयोजित ‘ह्वाइट हाउस संवाददाता संघ’को रात्रिभोज कार्यक्रममा सुरक्षा जाँच बिन्दु पार गरेका थिए।
उनले अर्ध-स्वचालित पिस्तोल, पम्प-एक्सन बन्दुक र तीनवटा चक्कु बोकेका थिए। सोमबार अदालतमा उपस्थित हुँदा उनले कुनै बयान भने दिएनन्। यस घटनापछि ह्वाइट हाउसले सुरक्षा व्यवस्थाको व्यापक समीक्षा सुरु गरेको छ।
यसैबीच, सन् २०२६ को विश्वकप तयारीमा संलग्न अधिकारीहरूले पनि सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन्। ह्वाइट हाउस विश्वकप कार्यदलका कार्यकारी निर्देशक एन्ड्र्यु जुलियानीले वासिङ्टन डीसीको घटनालाई “देशले सामना गरिरहेका अप्रत्याशित खतराहरूको गम्भीर रिमाइन्डर” भनेका छन्।
उनले थपे, “सुरक्षा निकायहरूको शीघ्र प्रतिक्रियाले धेरैको ज्यान जोगायो, तर यस घटनाले पूर्ण क्षमतामा सञ्चालित डीएचएसको आवश्यकतालाई थप प्रस्ट पारेको छ।”
जुलियानीका अनुसार राष्ट्रपति ट्रम्पको नेतृत्वमा अमेरिका जुनसुकै चुनौतीको सामना गर्न सक्ने सुरक्षा प्रणाली निर्माण गर्न प्रतिबद्ध छ। उनले भने, “लाखौँ दर्शक र देशभरि हुने दर्जनौँ ठूला कार्यक्रमसहितको विश्वकपको तयारी गर्दा डीएचएस पुनः सञ्चालनमा ल्याउनु अपरिहार्य छ। हामी लापरवाही गर्न सक्दैनौँ, किनकि जोखिम अत्यन्त उच्च छ।”
डीएचएसले अमेरिकामा आयोजना हुने विश्वकपको मुख्य सुरक्षा व्यवस्थापनको जिम्मेवारी सम्हाल्छ। यसको बन्द अवस्थाले स्थानीय र संघीय निकायहरूबीचको समन्वय कमजोर बनाएको अधिकारीहरूको ठहर छ।
यो बजेट विवाद मुख्य गरी डेमोक्रेटिक पार्टीले अध्यागमन तथा सीमा कार्यान्वयन निकायका लागि बजेट स्वीकृत गर्न अस्वीकार गरेपछि उत्पन्न भएको हो। गत जनवरीमा मिनियापोलिसमा संघीय एजेन्टहरूले चलाएको गोलीबाट दुई अमेरिकी नागरिकको मृत्यु भएको घटनालाई लिएर डेमोक्रेट्सहरूले सुधारबिना बजेट दिन नसकिने अडान राखेका छन्।
४८ टोली सहभागी हुने विश्वकप आगामी जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ।





