यूएईले ओपेक छाड्ने: तेल उत्पादन र मूल्यमा विश्वव्यापी प्रभाव पर्ने संकेत


प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार

संयुक्त अरब इमिरेट्स (यूएई) पेट्रोलियम निर्यातक देशहरूको संगठन ‘ओपेक’ बाट बाहिरिने भएको छ। यूएईले आगामी मे १ देखि लागू हुने गरी ओपेकबाट अलग हुने निर्णय गरेको हो।

देशको दीर्घकालीन रणनीतिक तथा आर्थिक दृष्टिकोणसँग मेल खाने र ऊर्जा क्षेत्रको विकासलाई तीव्र बनाउने उद्देश्यले यो निर्णय गरिएको यूएईले जनाएको छ। यसका साथै, आन्तरिक ऊर्जा उत्पादनमा लगानी बढाउने योजनासमेत यस निर्णयसँग जोडिएको बताइएको छ।

ओपेक विश्वका प्रमुख तेल उत्पादक देशहरूको समूह हो, जसले उत्पादन नीतिहरूमा समन्वय गरी विश्वव्यापी तेल आपूर्ति र मूल्यमा प्रभाव पार्ने गर्दछ। यूएईले ओपेकसँगै रुससहितका देशहरू सहभागी रहेको विस्तारित समूह ‘ओपेक प्लस’ पनि छाड्ने घोषणा गरेको छ।

यो निर्णय ओपेक र यसको प्रमुख सदस्य राष्ट्र साउदी अरबका लागि ठूलो धक्का मानिएको छ। यस समूहले विश्वको करिब ३६ प्रतिशत तेल उत्पादन गर्दछ भने झन्डै ८० प्रतिशत प्रमाणित तेल भण्डारमाथि नियन्त्रण राख्दछ।

यूएईका ऊर्जा मन्त्रीले यो निर्णय दीर्घकालीन बजारका आधारभूत अवस्थासँग मेल खाने एक नीतिगत परिवर्तन भएको बताएका छन्। उनले देश ऊर्जा सुरक्षामा प्रतिबद्ध रहँदै विश्व बजारलाई स्थिर, भरपर्दो र न्यून कार्बन उत्सर्जनयुक्त आपूर्ति प्रदान गर्न केन्द्रित रहने उल्लेख गरे।

यूएईले लामो समयदेखि आफ्नो उत्पादन कोटा बढाउन ओपेकसमक्ष आग्रह गर्दै आएको थियो, किनकि उसले आफ्नो उत्पादन क्षमतालाई निर्धारित सीमाभन्दा धेरै विस्तार गर्न खोजिरहेको थियो।

सन् १९६० मा साउदी अरब, इरान, इराक, भेनेजुएला र कुवेत मिलेर ओपेकको स्थापना गरेका थिए। यूएई सन् १९६७ मा यसको सदस्य बनेको थियो। विश्वका शीर्ष १० तेल उत्पादक देशमध्येको एक यूएईले विश्वको कुल उत्पादनको करिब ३ देखि ४ प्रतिशत हिस्सा ओगटेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com