अमेरिकामा अस्पताल लैजाँदै गर्दा आरोपीले चलाए गोली, १० वर्ष सेवा गरेका प्रहरीको ज्यान गयो


प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार

अमेरिकाको शिकागोमा भएको गोलीकाण्डमा एकजना प्रहरीको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्।

एक व्यक्तिले प्रहरीमाथि गोली चलाउँदा उक्त दुखद घटना भएको हो। घटनापछि आरोपितविरुद्ध २० वटा गम्भीर आपराधिक मुद्दा दायर गरिएको छ।

प्रहरीका अनुसार २६ वर्षीय अल्फान्सो ट्यालीलाई सशस्त्र डकैतीको आरोपमा पक्राउ गरिएको थियो। उनलाई उपचारका लागि एन्डेभर हेल्थ स्विडिस अस्पताल लैजाने क्रममा उनले हतियार हात पारेर अन्धाधुन्ध गोली चलाएका थिए।

घटनामा घाइते भएका दुई प्रहरीलाई तत्काल एडभोकेट इलिनोइस मेसोनिक मेडिकल सेन्टरमा भर्ना गरिएको थियो। उपचारका क्रममा एक प्रहरीलाई मृत घोषणा गरियो भने अर्का एकको अवस्था अझै गम्भीर रहेको बताइएको छ।

शिकागो प्रहरी प्रमुख ल्यारी स्नेलिङले घटनाप्रति दुःख व्यक्त गर्दै यसलाई कर्तव्य निर्वाहका क्रममा भएको पीडादायी घटनाका रूपमा उल्लेख गरेका छन्। उनले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन्।

गोलीकाण्डपछि फरार भएका ट्याली नजिकैको एक घरमा लुकेका थिए। पछि प्रहरी र स्वाट टोलीले उक्त घर घेराबन्दी गरी उनलाई पुनः पक्राउ गरेको छ। घटनास्थलबाट थप एक हतियार पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

मृतक प्रहरी ३८ वर्षका थिए र उनले १० वर्ष सेवा गरिसकेका थिए। त्यस्तै, घाइते प्रहरी ५७ वर्षका छन् र उनी विगत २१ वर्षदेखि सेवामा कार्यरत छन्। दुवैको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com