ट्रम्पलाई हिटलरसँग तुलना : यस्तो थियो ह्वाइट हाउस गोलीकाण्डका आरोपितको योजना
प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार
अमेरिकामा ह्वाइट हाउस गोलीकाण्डका आरोपित व्यक्तिले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एडोल्फ हिटलरसँग तुलना गर्ने गरेको खुलासा भएको छ।
३१ वर्षीय संदिग्ध कोल टोमास एलेनले सामाजिक सञ्जालमार्फत ट्रम्पलाई हिटलरसँग तुलना गर्ने र ट्रम्पका आलोचकहरूलाई हतियार किन्न प्रोत्साहित गर्ने खालका सन्देशहरू प्रवाह गर्ने गरेको पाइएको हो।
एलेनका सामाजिक सञ्जाल एकाउन्टहरूमा सुरुका वर्षहरूमा भिडियो खेलसम्बन्धी सामग्रीहरू पोस्ट हुने गरे तापनि पछिल्लो समय ती राजनीतिक रूपमा आक्रोशपूर्ण सन्देशतर्फ केन्द्रित भएका थिए।
अनुसन्धानका क्रममा ती पोस्टहरू एलेनले आक्रमणअघि आफ्ना परिवारका सदस्यहरूलाई पठाएको भनिएको सन्देशसँग मेल खाने देखिएको छ। उक्त सन्देशमा उनले ट्रम्प प्रशासनका अधिकारीहरूलाई निशाना बनाउने योजना र उनीहरूको कार्यशैलीप्रति तीव्र आक्रोश व्यक्त गरेका थिए।
विद्युतीय उपकरणहरूको जाँचबाट प्राप्त जानकारी अनुसार, सन् २०२२ सम्म एलेनले मुख्यतया ‘सुपर स्म्यास ब्रोज’ जस्ता लोकप्रिय निन्टेन्डो खेलका भिडियोहरू युट्युबमा सेयर गर्ने गर्थे। तर सन् २०२४ सम्म आइपुग्दा उनका पोस्टहरू पूर्णतः राजनीतिक सामग्रीतर्फ मोडिएका थिए।
उनले ट्रम्पलाई हिटलरसँग तुलना गर्ने पोस्टहरू बारम्बार साझा गर्नुका साथै निर्वाचन परिणामलाई अस्वीकार गर्नुपर्ने धारणा राखेका थिए।
पेन्सिल्भेनियाको बटलरमा ट्रम्पमाथि भएको पहिलो आक्रमणको प्रयासपछि एलेनले उक्त घटनालाई ‘सुनियोजित नाटक’ भन्दै आधारहीन टिप्पणी समेत गरेका थिए।
सन् २०२५ को फेब्रुअरीमा ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि एलेन ‘ब्लुस्काइ’ जस्ता प्लेटफर्ममा थप सक्रिय भई हतियार खरिदका लागि मानिसहरूलाई उक्साउन थालेको देखिन्छ। उनले डिसेम्बर २०२५ मा लेखेका थिए “हतियार किन्नका लागि सबैभन्दा उपयुक्त समय केही दिनअघि थियो, दोस्रो उपयुक्त समय आज हो।”
गत महिना मात्र उनले राष्ट्रपति ट्रम्पलाई ‘देशद्रोही’ को संज्ञा दिएका थिए। यद्यपि, एलेनलाई नजिकबाट चिन्नेहरू भने उनी एक अनुशासित अंशकालीन शिक्षक भएको र विद्यार्थीहरूमाझ लोकप्रिय रहेको बताउँछन्। क्यालिफोर्नियाको टोरेन्स क्षेत्रमा बस्दै आएका एलेनको पक्राउले स्थानीय समुदायमा आश्चर्य पैदा गरेको छ।
आरोपपत्र अनुसार, पक्राउ परेयता एलेनले मौन रहने आफ्नो अधिकार प्रयोग गरिरहेका छन्। अदालतमा उपस्थित हुँदा उनी भावनाविहीन देखिएका थिए र न्यायाधीशका प्रश्नहरूको मात्र संक्षिप्त जवाफ दिएका थिए।
अधिकारीहरूले उनले चलाएको गोलीको संख्या र सेक्रेट सर्भिसका एजेन्टको ज्याकेटमा लागेको गोलीबारे थप अनुसन्धान भइरहेको बताएका छन्। एलेनलाई आगामी बिहीबार हिरासतसम्बन्धी सुनुवाइका लागि पुनः अदालतमा उपस्थित गराइनेछ।





