ट्रम्पको सुरक्षा प्रोटोकल पुनरावलोकन गरिँदै: ह्वाइट हाउसले बोलायो उच्चस्तरीय बैठक
प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार
फोटो : एएफपी/रासस
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षा प्रोटोकल (सुरक्षा व्यवस्था) पुनरावलोकनको तयारी गरिएको छ।
शनिबार ‘ह्वाइट हाउस संवाददाता भोज’ का क्रममा भएको गोलीकाण्डपछि ह्वाइट हाउसले सुरक्षा व्यवस्थाको समीक्षा गर्न बैठक बोलाउने निर्णय गरेको हो। एक वरिष्ठ अधिकारीका अनुसार राष्ट्रपति ट्रम्पले ‘सेक्रेट सर्भिस’ प्रति विश्वास व्यक्त गर्दै उनीहरूले उत्कृष्ट काम गरेको बताएका छन्।
३१ वर्षीय संदिग्ध कोल टोमास एलेन दुई हजारभन्दा बढी पाहुना उपस्थित हल नजिकै पुग्न सफल भएपछि सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। उक्त कार्यक्रममा राष्ट्रपति ट्रम्प र मन्त्रिपरिषद्का सदस्यहरू समेत सहभागी थिए। सुरक्षा अधिकारीहरूले एलेनलाई नियन्त्रणमा लिने क्रममा भएको छोटो गोलीबारीमा एक संघीय अधिकारी घाइते भएका छन्। ती अधिकारीले बुलेटप्रुफ ज्याकेट लगाएका कारण उनको ज्यान जोगिएको बताइएको छ।
ह्वाइट हाउसका अनुसार, ‘चिफ अफ स्टाफ’ सुसी वाइल्सले यसै साताको सुरुमा ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ र ‘सेक्रेट सर्भिस’ का प्रतिनिधिहरूसँग बैठक गरी आगामी उच्चस्तरीय कार्यक्रमहरूको सुरक्षा उपायबारे समीक्षा गर्नेछिन्। पछिल्लो दुई वर्षमा ट्रम्पमाथि भएको यो तेस्रो सम्भावित आक्रमणको प्रयास मानिएको छ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभिटले सेक्रेट सर्भिसले आफ्नो कर्तव्य कुशलतापूर्वक पूरा गरेको बताउँदै सम्भावित सुरक्षा सुधारका उपायबारे विचार भइरहेको जानकारी दिइन्। यद्यपि, सुरक्षासम्बन्धी परिवर्तनहरू सार्वजनिक नगरिने उनले स्पष्ट पारिन्। यसैबीच, अमेरिकी सिनेटका वरिष्ठ नेता चक ग्रास्लीले पनि सेक्रेट सर्भिसको नेतृत्वसँग छलफल गरेका छन्। उनले हालसम्म सुरक्षामा कुनै गम्भीर कमजोरी नदेखिएको बताएका छन्।
उक्त कार्यक्रम वासिङ्टन हिल्टन होटलमा आयोजना गरिएको थियो। त्यहाँ प्रवेश गर्ने पाहुनाहरूको परिचयपत्र जाँच नगरी केवल ‘मेटल डिटेक्टर’ बाट एकपटक मात्र जाँच गरिएको पाइएको छ, जसले सुरक्षा सतर्कताप्रति चिन्ता बढाएको छ।
सामान्यतया ‘सुपर बाउल’ वा ‘स्टेट अफ द युनियन’ जस्ता कार्यक्रमहरूलाई ‘विशेष राष्ट्रिय सुरक्षा कार्यक्रम’ घोषणा गरी कडा सुरक्षा व्यवस्था गरिन्छ, तर यसपटकको भोजलाई त्यस्तो मान्यता दिइएको थिएन।
आगामी महिनाहरूमा राष्ट्रपति ट्रम्प विश्वकप र अमेरिकाको २५० औँ वार्षिकोत्सवका विभिन्न सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुने तालिका रहेको छ।





