ट्रम्पद्वारा अमेरिकी टोलीको पाकिस्तान भ्रमण रद्द,इरानलाई फोन गर्न सुझाव


प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार

फोटो: एपी/रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान जाने अमेरिकी वार्ता टोलीको प्रस्तावित भ्रमण रद्द गरेका छन्। इरानको टोलीले इस्लामाबाद छोडेको लगत्तै उनले यो निर्णय गरेका हुन्।

ट्रम्पले विशेष दूत स्टिभ विटकफ र आफ्ना ज्वाइँ जेरेड कुशनरको भ्रमण “समयको बर्बादी” हुने बताएका छन्। उनले भने, “यदि इरान वार्ता गर्न चाहन्छ भने उनीहरूले केवल फोन गरे पुग्छ।”

यसअघि इरानका विदेशमन्त्री अब्बास अराघचीले मध्यस्थकर्ता पाकिस्तानसँग छलफल गरेका थिए। उनले युद्ध अन्त्यका लागि इरानको धारणा प्रस्तुत गरेको बताए पनि अमेरिका कूटनीतिमा “साँचिकै गम्भीर छ कि छैन” भन्नेबारे अझै निश्चित नभएको उल्लेख गरे।

यसअघि २२ अप्रिलमा सकिने युद्धविरामलाई ट्रम्पले थप समय दिएका थिए, तर कूटनीतिक प्रयासहरू भने ठप्पजस्तै भएका छन्।

दुवै पक्षबीच होर्मुज जलमार्गलाई लिएर तनाव जारी छ। अमेरिकाले फेब्रुअरीमा इजरायलसँग मिलेर इरानमा आक्रमण गरेपछि इरानले उक्त महत्वपूर्ण जलमार्गमा आवागमन सीमित गरिदिएको छ। साथै, इरानको आणविक कार्यक्रमलाई लिएर पनि विवाद चुलिएको छ।

विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही मार्गबाट हुने भएकाले अमेरिकाले त्यहाँ आफ्नो नौसैनिक उपस्थिति बढाएर इरानी तेल निर्यात रोक्ने प्रयास गरिरहेको छ।

यसअघि ह्वाइट हाउसले इरान वार्ताका लागि इच्छुक रहेको जनाएको थियो, तर इरानले भने प्रत्यक्ष भेटवार्ताको कुनै योजना नभएको स्पष्ट पारेको छ।

ट्रम्पले युद्धविराम कायम रहने बताएका छन्, यद्यपि तत्काल प्रत्यक्ष वार्ताको अर्को चरण हुने सम्भावना कम देखिएको छ। उनले “यो निर्णयको अर्थ युद्ध फेरि सुरु हुन्छ भन्ने होइन” भन्दै यसबारे अहिलेसम्म कुनै नयाँ योजना नबनाइएको जानकारी दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले इरानको नेतृत्वभित्र गम्भीर विवाद र अन्योल रहेको दाबी गर्दै भने, “त्यहाँ कसको नियन्त्रण छ भन्ने कुरा उनीहरूलाई नै थाहा छैन।”

यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि वार्तामा सहभागी हुन तयार अवस्थामा थिए। इरानका राष्ट्रपति मसूद पेजेश्कियनले भने वार्ताका लागि अझै ढोका खुला रहेको बताएका छन्, तर उनले “प्रतिबद्धताको उल्लंघन, नाकाबन्दी र धम्की” नै वास्तविक वार्ताका मुख्य अवरोध भएको उल्लेख गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com