अमेरिकामा पूर्वकर्मचारी बलात्कार प्रकरण: पीडित महिलाले दिइन् बयान
प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार
अमेरिकी पूर्व कंग्रेस सदस्यमाथि बलात्कारको आरोप लगाएकी महिलाले अभियोजकको कार्यालयमा बयान दिएकी छन्। उनले आफ्नो नाम भने गोप्य राख्न आग्रह गरेको बताइएको छ।
क्यालिफोर्नियाका पूर्व प्रतिनिधि एरिक स्वालवेलमाथि एक पूर्व महिला कर्मचारीले बलात्कारको आरोप लगाएकी थिइन्। ती महिलाले म्यानह्याटन जिल्ला अभियोजकको कार्यालयद्वारा भइरहेको अनुसन्धानमा सहयोग गरिरहेको बताएकी छन्।
ती महिलाले सन् २०२४ अप्रिलमा न्युयोर्क सहरको एक होटलमा स्वालवेलले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन्। उनले यस महिनाको सुरुमा यो घटना सञ्चारमाध्यममार्फत सार्वजनिक गरेकी थिइन्।
उनले सन् २०१९ मा क्यालिफोर्नियामा मदिरापानपछि स्वालवेलले आफूसँग बिनासहमति यौन सम्पर्क गरेको पनि आरोप लगाएकी छन्। त्यतिबेला उनी स्वालवेलको कनिष्ठ कर्मचारीका रूपमा कार्यरत थिइन्।
घटना सार्वजनिक भएको एक दिनपछि म्यानह्याटन जिल्ला अभियोजकको कार्यालयले यस विषयमा अनुसन्धान सुरु गरेको थियो। त्यसपछि स्वालवेल क्यालिफोर्नियाको गभर्नर पदको दौडबाट बाहिरिए र पछि कंग्रेसको पदबाट पनि राजीनामा दिए।
स्वालवेलले त्यतिबेला यी आरोपहरू असत्य भएको बताएका थिए। उनले “तथ्यका आधारमा आफूलाई बचाउने तथा आवश्यक परे कानुनी कारबाही गर्ने” बताएका थिए।
आरोप लगाउने महिलाले प्रतिशोधको डरका कारण आफ्नो नाम सार्वजनिक नगर्न आग्रह गरेकी छन्। उनले नयाँ कानुनी सल्लाहकार पनि नियुक्त गरेको बताएकी छन्।





