गोप्य सूचना प्रयोग गरी ‘इन्साइडर ट्रेडिङ’ गरेको आरोपमा अमेरिकी सैनिक पक्राउ
प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार
अमेरिकाको विशेष सैनिक बलमा आबद्ध एक सैनिक पक्राउ परेका छन्। भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्ने सैन्य कारबाहीमा भूमिका खेलेका ग्यानन केन भान डाइकलाई पक्राउ गरिएको हो।
घटना सार्वजनिक हुनुअघि नै गोप्य जानकारीका आधारमा बाजी राखेपछि उनी पक्राउ परेका हुन्। अमेरिकी न्याय मन्त्रालयले भान डाइकविरुद्ध मुद्दा समेत दायर गरेको छ। उनले क्रिप्टो प्रविधिमा आधारित ‘पोलिमार्केट’ नामक प्लेटफर्म प्रयोग गरी गोप्य सूचनाको आधारमा कारोबार गरेको आरोप छ। न्याय मन्त्रालयका अधिकारीहरूले यसलाई स्पष्ट रूपमा ‘भित्री सूचनामा आधारित कारोबार’ भएको र यो संघीय कानुनअनुसार गैरकानुनी रहेको बताएका छन्।
नर्थ क्यारोलिनाको फोर्ट ब्र्यागमा कार्यरत ती सैनिकले यसरी गरिएको बाजीबाट ४ लाख ९ हजार डलरभन्दा बढी रकम कमाएका थिए। ३ जनवरीको राति गरिएको नाटकीय कारबाहीमा अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासस्थित निवासबाट मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरी न्युयोर्क ल्याएको थियो। उनीहरूमाथि हतियार र लागुऔषधसम्बन्धी आरोप लगाइएको छ, जसलाई उनीहरूले अस्वीकार गरेका छन्।
‘अपरेसन एब्सोल्युट रिजोल्भ’ नाम दिइएको उक्त कारबाहीको समय र परिणामबारे भान डाइकले बाजी लगाएको आरोप छ। न्याय मन्त्रालयका अनुसार २६ डिसेम्बर २०२५ तिर उनले पोलिमार्केटमा खाता खोलेर मदुरो र भेनेजुएलासँग सम्बन्धित बजारमा कारोबार सुरु गरेका थिए।
उनले गोप्य तथा सार्वजनिक नभएको सूचनाको पहुँचमा रहँदै ३३ हजार डलरभन्दा बढी रकमको बाजी लगाएका थिए। भान डाइकविरुद्ध गोप्य सरकारी सूचनाको अवैध प्रयोग, सार्वजनिक नभएको सूचनाको चोरी, वस्तु कारोबार ठगी, अनलाइन ठगी तथा अवैध आर्थिक कारोबारजस्ता आरोपहरू लगाइएको छ।
कार्यवाहक अमेरिकी महान्यायाधिवक्ताले सैनिकहरूलाई आफ्नो कर्तव्य सुरक्षित र प्रभावकारी रूपमा पूरा गर्न आग्रह गरेका छन्। अभियोगपत्रअनुसार सैनिकका रूपमा भान डाइकले गोप्य जानकारी कहिल्यै सार्वजनिक नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
उनीविरुद्ध भित्री सूचनामा आधारित कारोबार गरेको आरोपमा छुट्टै मुद्दा समेत दायर गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले यसबारे नसुनेको तर अनुसन्धान गर्ने बताएका छन्।





