ओरालो लाग्दै ट्रम्पको जनसमर्थन: रिपब्लिकन उम्मेदवारहरूका लागि बढ्दो चुनौती


प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवलम्बन गरेका नीतिप्रतिको जनसमर्थन घट्दै गएको देखिएको छ। अर्थतन्त्र, आप्रवासन तथा इरानसम्बन्धी नीतिप्रति जनसमर्थन घट्दै गएको विभिन्न सर्वेक्षणहरूले देखाएका हुन्। आगामी ६ महिनापछि हुने मध्यावधि निर्वाचनअघि सार्वजनिक भएका यी तथ्याङ्कहरूले रिपब्लिकन उम्मेदवारहरूका लागि चुनौती बढ्ने सङ्केत दिएका छन्।

रोयटर्स–इप्सोस, स्ट्रेन्थ इन नम्बर्स–भेरासाइट र एपी–एनओआरसी सार्वजनिक मामिला अनुसन्धान केन्द्रले गरेका सर्वेक्षणअनुसार ट्रम्पको अनुमोदन दर क्रमशः ३६, ३५ र ३३ प्रतिशतमा सीमित छ, जुन उनको हालसम्मकै न्यून स्तर नजिक मानिएको छ।

एपी–एनओआरसीको पछिल्लो सर्वेक्षणअनुसार १० मध्ये ७ अमेरिकीले देशको अर्थतन्त्र कमजोर अवस्थामा रहेको बताएका छन्। साथै, ७२ प्रतिशत उत्तरदाताले अमेरिका गलत दिशातर्फ अघि बढिरहेको धारणा व्यक्त गरेका छन्। ट्रम्पको अर्थतन्त्र व्यवस्थापनप्रति समर्थन ३० प्रतिशतमा झरेको छ, जबकि मार्च महिनामा यो ३८ प्रतिशत थियो। जीवनयापन खर्च नियन्त्रणप्रति भने केवल २३ प्रतिशत सन्तुष्ट देखिएका छन् भने ७६ प्रतिशत असन्तुष्ट छन्।

रोयटर्स–इप्सोस सर्वेक्षणले ट्रम्पको आप्रवासन नीतिले रिपब्लिकन उम्मेदवारहरूलाई निर्वाचनमा असर पार्न सक्ने देखाएको छ। ५२ प्रतिशत अमेरिकीले ट्रम्पको निर्वासन नीतिलाई समर्थन गर्ने उम्मेदवारलाई भोट नदिने बताएका छन् भने ४२ प्रतिशतले समर्थन गर्ने बताएका छन्। स्वतन्त्र मतदातामाझ यस विषयमा अझ ठूलो विभाजन देखिएको छ। सन् २०२५ जनवरीमा पदभार ग्रहण गरेपछि ट्रम्पको आप्रवासन नीतिप्रति ५० प्रतिशत समर्थन रहेकोमा हाल त्यो घटेर ४० प्रतिशतमा झरेको छ।

अर्को सर्वेक्षणअनुसार ट्रम्पको व्यक्तिगत अनुमोदन दर दोस्रो कार्यकालकै न्यून ३७ प्रतिशतमा झरेको छ। उक्त सर्वेक्षणमा ६३ प्रतिशत उत्तरदाताले असन्तुष्टि जनाएका छन्, जसमध्ये आधाले कडा असन्तुष्टि व्यक्त गरेका छन्। यद्यपि, रिपब्लिकन समर्थकहरूबीच भने ट्रम्पप्रति समर्थन अझै उच्च छ। करिब ८३ प्रतिशत रिपब्लिकनले उनलाई समर्थन गरेका छन्, जुन अघिल्लो तुलनामा केही कम हो।

सर्वेक्षणहरूले देखाएअनुसार अर्थतन्त्र अझै पनि अमेरिकी मतदाताको प्रमुख चासोको विषय बनेको छ। २९ प्रतिशतले यसलाई सबैभन्दा महत्त्वपूर्ण मुद्दा मानेका छन्। त्यसपछि लोकतन्त्रसम्बन्धी चुनौती, स्वास्थ्य सेवा तथा अपराध र सुरक्षा प्रमुख मुद्दाका रूपमा देखिएका छन्।

इरानसँगको द्वन्द्व व्यवस्थापनप्रति पनि ट्रम्पको आलोचना बढ्दै गएको छ। ६७ प्रतिशतले उनको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् भने एक–तिहाइले मात्र समर्थन गरेका छन्। समग्रमा ६१ प्रतिशत अमेरिकीले इरानमा थप सैन्य कारबाही गर्न नहुने धारणा राखेका छन्।

तर मतदाता परिचयपत्र र नागरिकता प्रमाण अनिवार्य गर्ने विषयमा भने ट्रम्प र रिपब्लिकन पक्षलाई व्यापक जनसमर्थन प्राप्त भएको छ। ७५ प्रतिशत अमेरिकीले सरकारी फोटो परिचयपत्र अनिवार्य हुनुपर्ने बताएका छन् भने ६१ प्रतिशतले नागरिकताको प्रमाणसमेत आवश्यक हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com