लस एन्जलसका कक्षाकोठामा स्क्रिन प्रयोगमा कडाइ, साना विद्यार्थीलाई डिजिटल उपकरण निषेध
प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार
अमेरिकाको लस एन्जलसका कक्षाकोठामा विद्यार्थीहरूलाई स्क्रिन प्रयोग गर्न रोक लगाइएको छ। शिक्षा बोर्डले यो निर्णय गरेको हो। यस्तो कदम चाल्ने पहिलो ठूलो अमेरिकी विद्यालय प्रणालीको रूपमा यस निर्णयले इतिहास बनाएको छ।
यस प्रस्तावअनुसार कक्षागत तहका आधारमा स्क्रिन प्रयोगसम्बन्धी नीतिहरू तयार गरिनेछ। कक्षा १ वा सोभन्दा साना विद्यार्थीहरूलाई डिजिटल उपकरण प्रयोग गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइनेछ।
करिब पाँच लाख विद्यार्थीलाई सेवा दिँदै आएको यस जिल्लाले कोभिड–१९ महामारीका बेला बढेको ट्याब्लेट र ल्यापटपको प्रयोग घटाउने उद्देश्यले यस्तो निर्णय गरेको हो।
यो प्रस्ताव ल्याउने बोर्ड सदस्य निक मेलभोइनले सन् २०२० मा विद्यार्थीका लागि उपकरणहरू ‘जीवनरेखा’ जस्तै भए पनि अहिले समय परिवर्तन भइसकेको बताए।
आगामी शैक्षिक सत्रदेखि लागू हुने अपेक्षा गरिएको यस नियमअनुसार विद्यालयले उपलब्ध गराएका उपकरणमा युट्युब लगायतका भिडियो स्ट्रिमिङ प्लेटफर्महरू पनि प्रतिबन्ध गरिनेछ। यससँगै अभिभावकहरूले आफ्ना छोराछोरीलाई केही डिजिटल उपकरणको प्रयोगबाट अलग राख्न सक्ने व्यवस्था पनि गरिनेछ।
प्रस्तावमा उल्लेख गरिएअनुसार ८ देखि ११ वर्षका बालबालिकाले सिफारिस गरिएको भन्दा बढी समय स्क्रिन प्रयोग गर्दा मोटोपन र डिप्रेसन जस्ता समस्या बढ्ने जोखिम हुन्छ। उनीहरूको संज्ञानात्मक परीक्षण मा पनि कमजोर नतिजा देखिएको छ।
यसअघि सन् २०२४ मा पनि यस जिल्लाले कक्षामा मोबाइल फोन र सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेको थियो।
अभिभावक समूह “स्कुल्स बियोन्ड स्क्रिन्स”की उपनिर्देशक आन्या मेक्सिनले यस कदमलाई विद्यालयहरूमा प्रविधि प्रयोगको दृष्टिकोणमा आएको एउटा ठूलो सांस्कृतिक परिवर्तनका रूपमा वर्णन गरिन्।





