अमेरिकाको नर्थ क्यारोलिनामा दुई समूहबीच गोली चल्दा दुई किशोरको मृत्यु, पाँच घाइते


प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार

अमेरिकाको नर्थ क्यारोलिना राज्यस्थित एक पार्कमा दुई समूहबीच भएको योजनाबद्ध झगडा गोलीकाण्डमा परिणत हुँदा दुई किशोरको मृत्यु भएको छ। उक्त घटनामा अन्य पाँच जना घाइते भएको अधिकारीहरूले बताएका छन्।

विन्स्टन–सेलम सहरका प्रहरी क्याप्टेनका अनुसार पार्कमा गोली चल्दा १६ र १७ वर्षका दुई किशोरको घटनास्थलमै मृत्यु भएको हो। घाइते हुने १४ देखि १९ वर्ष उमेर समूहका अन्य पाँच जनामा चार जना युवती रहेका छन्। केही घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ।

अधिकारीहरूका अनुसार उक्त घटनामा धेरै व्यक्तिहरूले बन्दुक चलाएका थिए। प्रहरी प्रमुखले अहिलेसम्म कसैलाई पक्राउ नगरिएको भए तापनि घाइतेमध्येकै केही व्यक्ति घटनामा संलग्न हुन सक्ने आशंका व्यक्त गरेका छन्। मृतक किशोरहरू झगडामा प्रत्यक्ष संलग्न थिए वा थिएनन् भन्नेबारे तत्काल खुल्न सकेको छैन। त्यस्तै, झगडाको ठोस कारण पनि अझै स्पष्ट भइसकेको छैन।

घटनास्थल नजिकका विद्यालयहरू सुरक्षित रहेको अधिकारीहरूले जनाएका छन्। यो गोलीकाण्ड आवासीय क्षेत्रमा रहेको एक पार्कमा भएको हो, जुन सहरको केन्द्रबाट उत्तर–पश्चिमतर्फ पर्दछ। विन्स्टन–सेलम सहर ऐतिहासिक रूपमा सुर्तीजन्य (तम्बाकु) उद्योगका लागि परिचित छ।

यसअघि आइतबार लुइसियानामा भएको अर्को विभत्स गोलीकाण्डमा एक व्यक्तिले आफ्नै ७ सन्तानसहित ८ जना बालबालिकाको हत्या गरेका थिए। ती व्यक्ति अमेरिकी नेशनल गार्डका पूर्व सदस्य रहेको तथ्य समेत बाहिर आएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com