रूसी तेलमाथिको अमेरिकी छुट थपिएपछि युक्रेन आक्रोशित
प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार
अमेरिकाले रूसलाई तेल बिक्री गर्न दिएको समयावधि थप गरेपछि युक्रेनले उक्त निर्णयको कडा आलोचना गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमी प्रतिबन्धका बाबजुद अमेरिकाले गरेको यो निर्णयले रूसलाई नै फाइदा पुग्ने भन्दै आलोचना गरेका हुन्।
यस निर्णयअनुसार समुद्रमा पहिले नै लोड भइसकेका रूसी तेल तथा पेट्रोलियम पदार्थहरू मे १६ सम्म किनबेच गर्न पाइनेछ।
अमेरिकाले भने इरानसँगको युद्धका कारण उत्पन्न ऊर्जा अभावलाई कम गर्न यो छुट दिइएको जनाएको छ। मार्च १३ मा अमेरिकाले रूसी तेलमाथिको प्रतिबन्ध केही खुकुलो बनाउने निर्णय गर्दा जेलेन्स्की र उनका युरोपेली सहयोगीहरूले विरोध गरेका थिए।
शुक्रबार उक्त छुटको अवधि थप गर्दै अमेरिकाले, युद्ध अन्त्यका लागि वार्ताहरू तीव्र भइरहेका बेला आवश्यक देशहरूलाई इन्धन आपूर्ति सहज बनाउन यस्तो कदम चालिएको दाबी गरेको छ।
तर जेलेन्स्कीले भने, “रूसी तेलका लागि तिरिने प्रत्येक डलर युक्रेनविरुद्धको युद्धमा प्रयोग हुने पैसा हो” भन्दै टिप्पणी गरेका छन्। सन् २०२२ फेब्रुअरीमा राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि पूर्ण सैन्य आक्रमण सुरु गरेपछि रूसमाथि व्यापक अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइएको छ।
यसैबीच, अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि इरानले पनि जवाफी कदम चालेको छ। उसले इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरू मात्र नभई, अमेरिकाका सहयोगी अरब देशहरूका ऊर्जा संरचना तथा नागरिक क्षेत्रहरूमा समेत आक्रमण गरेको छ।
यससँगै इरानले होर्मुज जलमार्ग बन्द गरिदिएको छ, जहाँबाट विश्वको करिब २० प्रतिशत तेल र ग्यास ढुवानी हुने गर्दछ। यस अवस्थाले ऊर्जा बजारमा ठूलो अस्थिरता ल्याएको छ।
यो मार्ग चाँडै नखुले विश्व अर्थतन्त्र मन्दीमा जान सक्ने चिन्ता बढेको छ। जेलेन्स्कीका अनुसार रूससँग “छायाँ बेडा” अन्तर्गत ११० भन्दा बढी ट्याङ्कर जहाजहरू छन्, जसले प्रतिबन्ध छल्न मद्दत गरिरहेका छन्।
जसमा १ करोड २० लाख टनभन्दा बढी तेल रहेको बताइएको छ। उनले ती तेल बिक्रीबाट रूसले करिब १० अर्ब डलर आम्दानी गर्ने र उक्त रकम युक्रेनमाथि थप आक्रमण गर्न प्रयोग हुने दाबी गरेका छन्।





