हर्मुज जलमार्ग खुला: विश्व अर्थतन्त्रलाई राहत, कच्चा तेलको मूल्य घट्यो
प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार
इरानले हर्मुज जलमार्ग खोल्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। अमेरिका–इजरायल र इरानबीच जारी तनावका कारण हर्मुज जलमार्ग बन्द हुँदा विश्वभर तेल आपूर्तिमा गम्भीर प्रभाव परेको थियो।
युद्धविराम अवधिभर हर्मुज जलमार्ग व्यापारिक जहाजहरूका लागि पूर्ण रूपमा खुला रहने इरानको घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्न थालेको हो।
इरानको यस निर्णयपछि ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ८८ डलरमा झरेको छ, जुन शुक्रबार बिहान ९८ डलरभन्दा माथि पुगेको थियो। हर्मुज जलमार्ग विश्वकै महत्त्वपूर्ण समुद्री मार्गमध्ये एक हो, जहाँबाट विश्वको करिब २० प्रतिशत तेल र तरलीकृत प्राकृतिक ग्यास ओसारपसार हुने गर्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको यस निर्णयको स्वागत गरेका छन्। इरानका विदेशमन्त्री अब्बास अराघचीका अनुसार युद्धविराम अवधिभर हर्मुज जलमार्ग सबै व्यापारिक जहाजका लागि पूर्ण रूपमा खुला रहनेछ। यस घोषणापछि विश्वभरका सेयर बजारमा समेत सकारात्मक प्रभाव देखिएको छ; अमेरिकाको एस एन्ड पी ५०० सूचकांक १.२ प्रतिशतले वृद्धि भएको छ।
गत फेब्रुअरी अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि इरानले हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गरेको थियो। त्यसपछि तेलवाहक जहाजहरूको आवागमन ठप्प हुँदा विश्व बजारमा आपूर्ति कम भई मूल्य आकाशिएको थियो। युद्ध सुरु हुनुअघि ब्रेन्ट कच्चा तेलको मूल्य ७० डलरभन्दा तल रहे पनि मार्च महिनामा यो ११९ डलरसम्म पुगेको थियो।
यद्यपि, इरानले मार्ग खुला गर्ने बताए पनि अन्तर्राष्ट्रिय समुद्री संस्था ‘बिम्को’ ले भने अझै जोखिम रहेको चेतावनी दिएको छ। सो संस्थाका सुरक्षा प्रमुखका अनुसार समुद्री मार्गमा विस्फोटक पदार्थ वा अन्य सुरक्षा खतराको अवस्था अझै स्पष्ट भइसकेको छैन, त्यसैले जहाजहरूले उच्च सावधानी अपनाउनु पर्ने देखिन्छ।
त्यस्तै, अन्तर्राष्ट्रिय समुद्री संगठन ले पनि इरानको घोषणाको आधिकारिकता र सुरक्षा अवस्थाबारे थप जानकारी संकलन गरिरहेको जनाएको छ।





