बैंक अफ अमेरिकामा बम आक्रमणको प्रयास: पेरिसमा तीन जना पक्राउ


प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार

बैंक अफ अमेरिकाको पेरिसस्थित कार्यालयमा बम विष्फोट गराउने प्रयास गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

फ्रान्सेली प्रहरीका अनुसार बैंकमा आक्रमण गर्ने योजना विफल पारिएको छ। घटनामा संलग्न तीनै जनालाई नियन्त्रणमा लिइएको फ्रान्सको आतंकवाद विरोधी अभियोजक कार्यालयले जनाएको छ।

एक संदिग्धलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो। उनले करिब पाँच लिटर प्रज्वलनशील तरल पदार्थ र आगो बाल्ने संयन्त्र जडान गरिएको उपकरण बैंक नजिकै राखेका थिए।

फ्रान्सेली सुरक्षा निकायले अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आशंकामा अन्य दुई जनालाई भोलिपल्ट पक्राउ गरेको हो। उक्त घटना पेरिसको आठौँ क्षेत्र अर्थात् सहरको मुख्य सडक नजिकै भएको थियो।

फ्रान्सका गृहमन्त्री लरेन्ट न्युनेजले यो आक्रमण प्रयास अमेरिका-इजरायल र इरानबीचको द्वन्द्वसँग सम्बन्धित हुन सक्ने संकेत गरेका छन्।

उनले द्वन्द्वका क्रममा इरानी निकायहरूले अप्रत्यक्ष माध्यमबाट यस्ता गतिविधि गराउन सक्ने सम्भावना रहेको बताए। हालसम्म फ्रान्सस्थित इरानी दूतावासले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

प्रहरी स्रोतका अनुसार, मुख्य संदिग्धसँगै अर्का एक व्यक्ति पनि थिए, जसले मोबाइल फोनबाट फोटो र भिडियो खिचिरहेका थिए।

तर प्रहरी पुग्नेबित्तिकै उनी फरार भएका थिए। पक्राउ परेका संदिग्धमध्ये एक जना नाबालक रहेका छन् र उनको हिरासत अवधि थप गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फ्रान्सेली कानुनअनुसार आतंकवादसँग सम्बन्धित मुद्दामा संदिग्धलाई ९६ घण्टासम्म हिरासतमा राख्न सकिन्छ, जुन पछि अदालतको आदेशमा थप गर्न मिल्छ।

गृहमन्त्री न्युनेजले यस्तै खालका आक्रमण प्रयासहरू फ्रान्ससहित नेदरल्याण्ड्स, बेलायत र नर्वेमा पनि विफल पारिएको दाबी गरेका छन्।

उनले सुरक्षा निकायलाई थप सतर्क रहन र देशभरका संवेदनशील स्थानहरूमा सुरक्षा कडा बनाउन आग्रह गरेका छन्। यस घटनाको अनुसन्धानमा पेरिस न्यायिक प्रहरी र फ्रान्सको आन्तरिक गुप्तचर निकाय संलग्न रहेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com