साउदी अरबको एयर बेसमा इरानी आक्रमण, १२ अमेरिकी सैनिक घाइते 


प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार

फाइल फोटो : एएफपी/रासस

इरानले साउदी अरबको प्रिन्स सुलतान एयर बेसमा ब्यालेस्टिक मिसाइल र ड्रोन आक्रमण गरेको छ। यो बेस, साउदी र अमेरिकी सेनाले साझा प्रयोग गर्ने बेस हो । यो राजधानी रियाद बाहिर अवस्थित छ।

एशोसिएटेड प्रेस र विभिन्न समाचार संस्थाहरुका अनुसार कम्तीमा १२ अमेरिकी सैनिक घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर छ। अमेरिकी अधिकारीका अनुसार केही विमान पनि क्षतिग्रस्त भएको अनुमान गरिएको छ।

इरानले बेसमा जलिरहेका विमानको चिनियाँ उपग्रह तस्वीर सार्वजनिक गरेको छ। तस्वीरमा देखाइए अनुसार, हावामा लडाकू विमानलाई इन्धन आपूर्ति गर्ने एक ट्यांकर ध्वस्त भएको छ भने तीन अन्य विमान क्षतिग्रस्त भएका छन्।

इरानले युद्ध सुरु भएयता एक महिनाभित्रै क्षेत्रभरि अमेरिकी सैनिकहरूलाई लक्षित गर्दै आएको छ। पेन्टागनका अनुसार अहिलेसम्म १३ अमेरिकी सैनिकको मृत्यु भएको छ र ३०० भन्दा बढी घाइते भएका छन्।

यो आक्रमण त्यतिबेला भएको हो, जब युद्धले एक महिनाको समय पूरा गरेको छ भने इजरायली सेनाले यमनबाट इजरायलतर्फ प्रक्षेपित मिसाइल रोकिएको घोषणा गरेको छ। युद्धको २९ औँ दिनमा स्थिति अझै तनावपूर्ण छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com