दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला: उडानहरू अस्थायी रूपमा रोकिए


प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार

दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन हमला भएको छ। हमलापछि एक इन्धन ट्याङ्कीमा आगलागी भएको छ।

दुबई मिडिया अफिसले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दिएको जानकारीअनुसार, सिभिल डिफेन्सको टोलीले आगो नियन्त्रणमा लिएको थियो। घटनामा कुनै मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै उडानहरू अस्थायी रूपमा स्थगित गरिएको जानकारी दिएको छ। यात्रु राज ढोलाकियाले सञ्चारमाध्यमसँग कुरा गर्दै आफू न्युयोर्क हुँदै टोरन्टो जाने उडानको प्रतीक्षामा रहेका बेला अचानक तीनवटा गेटबाट यात्रुहरूलाई बाहिर निकालिएको बताए।

उनका अनुसार, त्यतिबेला त्यहाँ सयौँ मानिस आराम गरिरहेका वा हिँडिरहेका थिए। “सबैलाई नजिकैको सिँढीबाट तल झर्न भनियो,” उनले भने। एस्केलेटरमा अत्यधिक भीड भएको र लिफ्टसमेत भरिभराउ रहेको उनले उल्लेख गरे।

यात्रुहरू भेला हुने स्थानमा करिब एक हजार मानिस जम्मा भएको अनुमान गरिएको छ। बस्ने ठाउँ अभाव भएपछि कतिपय यात्रुहरू भुइँमै बस्न बाध्य भएका थिए। विमानस्थल प्रशासनले यात्रुहरूलाई आफ्नो उडानसम्बन्धी पछिल्लो जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न आग्रह गरेको छ।

एयरलाइन्सहरूले सामाजिक सञ्जालमा सूचना जारी गर्दै यात्रुहरूलाई तत्काल विमानस्थल नआउन अनुरोध गरेका छन्। कम्पनीहरूले यात्रु र चालक दलको सुरक्षा नै आफ्नो “उच्च प्राथमिकता” रहेको जनाएका छन्।

अधिकारीहरूका अनुसार, ड्रोन प्रहारपछि लागेको आगो नियन्त्रणमा आइसकेको छ। केही उडानहरूलाई दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ६५ किलोमिटर टाढा रहेको सहरको अर्को मुख्य विमानस्थलतर्फ डाइभर्ट गरिएको छ।

यसअघि पनि क्षेत्रीय तनावका कारण इरानबाट प्रक्षेपित ड्रोनहरूले दुबईको महत्त्वपूर्ण यातायात केन्द्रलाई पटक-पटक निशाना बनाएको बताइएको छ। गत साता भएको यस्तै आक्रमणमा चार जना घाइते भएका थिए भने विमानस्थलको एक कन्कोर्स मा क्षति पुगेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com