मोज्तबा खामेनीसहित १० नेताको खोजीमा अमेरिका, सूचना दिनेलाई १० मिलियन डलर पुरस्कार


प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार

अमेरिकाले इरानका १० जना वरिष्ठ नेताहरूको अवस्थाबारे सूचना दिने व्यक्तिलाई १० मिलियन डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ। साथै, सूचना दिने व्यक्तिलाई आवश्यक परे अन्य देशमा स्थानान्तरण गर्ने सम्भावना पनि रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

अमेरिकी विदेश मन्त्रालयको “रिवार्ड्स फर जस्टिस” कार्यक्रमले शुक्रबार सार्वजनिक गरेको घोषणामा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीसहित इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी)का अन्य ९ जना प्रमुख नेताबारे जानकारी दिनेलाई पुरस्कार प्रदान गरिने उल्लेख गरिएको छ।

अमेरिकी रक्षा मन्त्री पीट हेगसेथका अनुसार हालै सार्वजनिक रूपमा वक्तव्य दिएका मोज्तबा खामेनी घाइते भएको र सम्भवतः गम्भीर रूपमा घाइते अवस्थामै रहेको आशंका गरिएको छ। युद्ध सुरु हुँदा भएको एक क्षेप्यास्त्र आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलगायत केही वरिष्ठ अधिकारीहरूको मृत्यु भएको थियो ।

पुरस्कारको सूचीमा समावेश अन्य प्रमुख व्यक्तिहरूमा उप–प्रधान स्टाफ प्रमुख अली असघर हेजाजी, सैन्य सल्लाहकार मेजर जनरल याह्या रहिम सफावी, गृहमन्त्री ब्रिगेडियर जनरल एसकन्दर मोमेनी, गुप्तचर तथा सुरक्षा मन्त्री इस्माइल खातिब र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी रहेका छन्।

अमेरिकी विदेश मन्त्रालयले विज्ञप्तिमा भनिएको छ, “यी व्यक्तिहरूले आईआरजीसीका विभिन्न संरचनाहरूलाई निर्देशन र नेतृत्व दिन्छन्, जसले विश्वभर आतंकवादी गतिविधिहरूको योजना बनाउने, संगठित गर्ने र सञ्चालन गर्ने काम गर्छ।”

यस सूचीमा चार जना नेताहरूलाई भने नाम उल्लेख नगरी केवल पदका आधारमा चिनाइएको छ। तीमध्ये रक्षा परिषद्का सचिव, सर्वोच्च नेताका सल्लाहकार, सर्वोच्च नेताको कार्यालयका सैन्य प्रमुख तथा आईआरजीसीका कमाण्डर रहेका छन्।

“यी इरानी नेताहरूबारे जानकारी छ ? हामीलाई सूचना पठाउनुहोस्। तपाईं पुरस्कार र सुरक्षित स्थानान्तरणका लागि योग्य हुन सक्नुहुन्छ,” कार्यक्रमले सामाजिक सञ्जालमार्फत अपिल गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले उक्त पुरस्कार सम्बन्धी पोस्टर अंग्रेजी र फारसी (फार्सी) भाषामा सार्वजनिक गरेको छ, जसलाई इरानी नागरिकहरूलाई लक्षित अपिलका रूपमा हेरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि जनवरीमा अमेरिकाले इरानी तेल ढुवानीसम्बन्धी जानकारी र आईआरजीसीको आर्थिक सञ्जालबारे सूचना दिने व्यक्तिलाई १५ मिलियन डलरसम्म पुरस्कार दिने घोषणा गरेको थियो। साथै, युद्ध सुरु हुनुभन्दा केही दिनअघि सीआईएले पनि इरानमा रहेका सम्भावित सूचनादाताहरूलाई सम्पर्क गर्ने तरिकाबारे निर्देशन दिएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com