इरानका सर्वोच्च नेता खामेनी आफ्नै आवास परिसरमा मारिए


प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी राजधानी तेहरानस्थित आफ्नै आवास परिसरमा मारिएका छन्। इरानी सरकारी सञ्चार माध्यम ‘फार्स’ का अनुसार शनिबार बिहान भएको आक्रमणका क्रममा खामेनी आफ्नो कार्यालयमा नियमित जिम्मेवारी निर्वाह गरिरहेका बेला मारिएका हुन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको दाबी गरेका थिए। अमेरिका र इजरायलले गरेको संयुक्त सैन्य आक्रमणमा खामेनी मारिएको दाबी ट्रम्पले गरे पनि सुरुमा इरानी अधिकारीहरूले भने उनी सुरक्षित रहेको दाबी गरेका थिए।

आक्रमणपछि उपग्रह (स्याटेलाइट) बाट खिचिएका तस्बिरहरूमा तेहरानस्थित नेताको आवास परिसरबाट कालो धुवाँ उठिरहेको देखिएको छ। ती तस्बिरहरूले परिसरका केही भवनहरू गम्भीर रूपमा क्षतिग्रस्त भएको संकेत गरेका छन्।

उक्त परिसर तेहरानको केन्द्रभागमा अवस्थित छ, जुन तेहरान विश्वविद्यालय नजिकै पर्दछ। यो क्षेत्र इस्लामी गणतन्त्रको धार्मिक नेतृत्वका लागि निर्णय लिने मुख्य केन्द्र मानिन्छ। सर्वोच्च नेताको मृत्युको समाचार पढेर सुनाउँदै गर्दा इरानी टेलिभिजनका समाचार वाचक भावुक हुँदै रोएका थिए।

आइतबार बिहान स्थानीय समयअनुसार इरानले आफ्ना नेताको मृत्यु पुष्टि गरेको हो। अमेरिकी र इजरायली आक्रमण सुरु भएको एक दिनपछि यो घटनाको आधिकारिक पुष्टि भएको हो। खामेनीको निधनपछि इरानले ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ।

शनिबार बिहान इजरायल र अमेरिकाले इरानमाथि संयुक्त आक्रमण सुरु गरेपछि खामेनी सार्वजनिक रूपमा कतै देखिएका थिएनन्। ती आक्रमणहरूका क्रममा लगातार हवाई बमबारी गरिएको थियो।

सन् १९८९ मा सत्तामा आएयता खामेनीको नेतृत्वमा रहेको इरान अहिले सबैभन्दा कमजोर अवस्थामा पुगेको मानिन्छ। पश्चिमी देशहरूको दशकौँ लामो प्रतिबन्धले देशको अर्थतन्त्र पहिले नै जर्जर भइसकेको थियो। त्यसपछि सन् २०२५ को जुन महिनामा भएको अमेरिकी र इजरायली आक्रमणले उनको शासनलाई थप संकटमा पारेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com