ट्रम्पका विषयमा बाबु–छोरीको झगडा, छोरीको गोली हानी हत्या


प्रकाशित मिति : माघ २७, २०८२ मंगलबार

अमेरिकाको टेक्सासमा गोली हानी मारिएकी बेलायती युवतीको आफ्नै बुबासँग झगडा भएको खुलेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विषयमा बाबु–छोरीबीच भएको उक्त झगडाबारे न्यायिक छानबिनका क्रममा खुलासा भएको हो।

चेशायरको वारिङ्टन निवासी २३ वर्षीया लुसी ह्यारिसनको १० जनवरी २०२५ मा डलास नजिकैको प्रोस्परमा छातीमा गोली लागेर मृत्यु भएको थियो। स्थानीय प्रहरीले उनको मृत्युलाई सम्भावित ‘म्यानस्लटर’ (अनिच्छित हत्या) का रूपमा अनुसन्धान गरेको थियो।

तर कोलिन काउन्टीको ग्रान्ड ज्युरीले अभियोग दर्ता नगर्ने निर्णय गरेपछि उनका बुबा क्रिस ह्यारिसनविरुद्ध कुनै आपराधिक मुद्दा भने दायर गरिएको थिएन।

लुसी ह्यारिसनको मृत्युबारे चेशायर कोरोनर अदालतमा ‘इन्क्वेस्ट’ अर्थात् न्यायिक छानबिन सुरु भएको छ। त्यहाँ उनका प्रेमी स्याम लिटलरले ट्रम्पबारे भएको “ठूलो विवाद” को वर्णन गरेका छन्। ट्रम्प त्यतिबेला आफ्नो दोस्रो कार्यकालको शपथ ग्रहणको तयारीमा थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लिटलर त्यतिबेला छुट्टी मनाउन लुसीसँग अमेरिका गएका थिए। उनका अनुसार लुसी आफ्ना बुबाले बन्दुक राख्ने कुरा गर्दा प्रायः असहज र दुःखी हुने गर्थिन्। क्रिस ह्यारिसन छोरी सानै हुँदा अमेरिका गएका हुन्। मदिराको लतका कारण उनी पुनःस्थापना केन्द्र (रिह्याब) मा बसेको तथ्य पनि न्यायिक छानबिनका क्रममा सार्वजनिक भएको छ।

अदालतमा पेस गरिएको लिखित बयानमा क्रिस ह्यारिसनले घटनाकै दिन आफूले पुनः मदिरा सेवन गरेको स्वीकार गरेका छन्। उनले करिब ५०० मिलिलिटर सेतो वाइन पिएको बताएका छन्।

लिटलरका अनुसार १० जनवरी बिहान ट्रम्पबारेको विवादका क्रममा लुसीले बुबासँग सोधेकी थिइन्, “यदि म त्यस्तो परिस्थितिमा परेकी केटी हुन्थेँ र ममाथि यौन दुर्व्यवहार भएको हुन्थ्यो भने तपाईंलाई कस्तो लाग्थ्यो?” जवाफमा क्रिस ह्यारिसनले आफ्ना अन्य दुई छोरी पनि आफूसँगै बस्ने भएकाले त्यति धेरै असर नपर्ने बताएका थिए। त्यसपछि लुसी निकै दुःखी भई माथिल्लो तलामा गएकी थिइन्।

त्यसै दिन, विमानस्थल जान करिब आधा घण्टा बाँकी हुँदा लुसी भान्सामा थिइन्। लिटलरका अनुसार क्रिस ह्यारिसनले उनको हात समातेर भुइँतलाको शयनकक्षमा लगे। करिब १५ सेकेन्डपछि ठूलो आवाज आयो। त्यसपछि क्रिसले आफ्नी पत्नी हेदरलाई चिच्याउँदै बोलाएका थिए।

लिटलरले अदालतमा भने, “म कोठामा दौडिएर जाँदा लुसी बाथरुमको ढोकानजिकै भुइँमा लडेकी थिइन् र क्रिस अनावश्यक कुरा गर्दै चिच्याइरहेका थिए।”

क्रिस ह्यारिसनको बयानअनुसार उनीहरू टेलिभिजनमा बन्दुक अपराधसम्बन्धी समाचार हेरिरहेका थिए। उनले छोरीलाई आफूले बन्दुक राखेको बताउँदै हेर्न चाहन्छौ कि भनेर सोधे। त्यसपछि उनी शयनकक्षमा राखिएको अर्ध-स्वचालित ह्यान्डगन देखाउन गए।

ह्यारिसनले परिवारको सुरक्षाका लागि केही वर्षअघि उक्त बन्दुक किनेको र यसबारे छोरीसँग पहिले कहिल्यै छलफल नगरेको दाबी गरेका छन्। उनले भनेका छन्, “जब मैले बन्दुक उठाएर देखाउन खोजेँ, अचानक ठूलो आवाज आयो। के भयो भन्ने मैले बुझिनँ। लुसी तुरुन्तै ढली।” उनले आफ्नो औँला ट्रिगरमा थियो वा थिएन भन्ने कुरा सम्झन नसकेको बताएका छन्।

घटनापछि पुगेकी प्रहरी अधिकारी लुसियाना एस्कालेराले उनको सासबाट मदिराको गन्ध आएको उल्लेख गरेकी थिइन्। लुसीकी आमा जेन कोट्सका तर्फबाट प्रतिनिधित्व गरिरहेकी वकिल लोइस नोरिसले क्रिस ह्यारिसन नै घटनाका बेला कोठामा रहेका एकमात्र व्यक्ति भएको र गोली चलाउने व्यक्ति पनि उनै भएको बताएकी छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com