राति ब्युँझिएर डराउँदै ‘ड्याडी’ भन्दै रोइरहन्छन् आइसको हिरासतबाट रिहा भएका ५ वर्षीय बालक


प्रकाशित मिति : माघ २३, २०८२ शुक्रबार

आइसको हिरासतबाट रिहा भएपछि एड्रियन कोनेजो एरियास र उनका छोरा लियाम कोनेजो रामोस । तस्वीर स्रोत : टेक्सासका डेमोक्र्याट सांसद जोआक्विन क्यास्ट्रो

गत जनवरी २० मा अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)द्वारा नियन्त्रणमा लिइएका ५ वर्षीय बालक लियाम कोनेजो रामोस र उनका बुबा एड्रियन अलेक्जेन्डर कोनेजो रामोस अन्ततः फेब्रुअरी १ मा रिहा भए ।

अमेरिकी जिल्ला न्यायाधीश फ्रेड बायरीको आदेशपछि हिरासत मुक्त भएका लियाम र उनका बुबा एड्रियन कोनेजो एरियास मिनियापोलिस फर्किसकेका छन् । तर, घर फर्किए पनि उनीहरूको जीवन सामान्य बन्न सकेको छैन।

५ वर्षको उमेरमै करिब २ सातासम्म आइसको हिरासतमा परेका लियाम अहिले राति सुत्दा पनि डराएर ब्युँझिने गर्छन्। उनी फेरि परिवार छुट्टिने हो कि भन्ने त्रासमा बाँचिरहेका छन्।

गत जनवरी २० को बिहान लियामलाई विद्यालयबाट लिएर घर फर्किरहेका उनका बुबालाई थाहा थिएन, त्यो दिन उनीहरूको जीवन सधैंका लागि बदलिनेछ। घरको आँगनमै गाडी रोकेलगत्तै आप्रवासन अधिकारीहरू अचानक आइपुगे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुबाले गर्भवती श्रीमतीलाई घरभित्रै बस्न आग्रह गरे। परिवारको सुरक्षाको चिन्ताले उनले यस्तो निर्णय लिएका थिए। तर, त्यसपछि जे भयो, त्यो दृश्य उनको परिवारले कहिल्यै बिर्सन सकेको छैन।

प्रत्यक्षदर्शीहरूका अनुसार अधिकारीहरूबीच बालकलाई प्रयोग गरेर घरभित्र भएकालाई बाहिर ल्याउने विषयमा समेत छलफल भएको थियो। यद्यपि अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले यस्तो आरोप अस्वीकार गरेको छ।

हिरासतपछि लियामको व्यवहारमा ठूलो परिवर्तन आएको उनका बुबाले बताएका छन् । उनी राति ब्युँझिएर डराउँदै “ड्याडी” भन्दै रोइरहन्छन्। बारम्बार आफूहरूले के गल्ती गरेका थिए भन्ने प्रश्न सोध्ने गर्छन्।

हिरासतमा रहँदा लियामलाई शान्त राख्न उनका बुबाले बालबालिकाको लोकप्रिय एनिमेटेड कार्यक्रम “ब्लुयी” का कथाहरू सुनाएर समय बिताएका थिए। तर, परिवारबाट टाढा हुने डरले उनीहरू दुवै मानसिक तनावमा परेका थिए।

घर फर्किएपछि पनि परिवारले चुनौती झेलिरहेको छ। लियामलाई ज्वरो र खोकी लागेको छ भने उनकी आमामा पनि स्वास्थ्य समस्या देखिएको छ। परिवार अहिले पक्राउ पर्ने डरका कारण सार्वजनिक जीवनबाट टाढा बसेको छ।

घटनाबारे बोल्दै लियामका बुबाले आफ्नो छोरा स्वतन्त्रता र आशाको प्रतीक बनेको बताएका छन्। उनका अनुसार भविष्यमा उनले छोरालाई यो घटनाले धेरै बालबालिकाको आवाज विश्वसम्म पुर्‍याएको सम्झाउनेछन्।

“मेरो छोरा निकै साहसी छ। म उसप्रति गर्व गर्छु,” उनले भावुक हुँदै भने।

परिवारका प्रतिनिधिहरूका अनुसार उनीहरू इक्वेडरका नागरिक हुन् । २०२४ मा शरणार्थीहरूका लागि प्रयोग हुने एक मोबाइल एपमार्फत अमेरिका प्रवेश गरेका थिए। तर डिएचएसले उक्त एप प्रयोग गरिएको कुनै अभिलेख नभएको जनाउँदै लियामका बुबामाथि गैरकानुनी रूपमा बसोबास गरेको आरोप लगाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com