विवादास्पद यौनकाण्ड: अमेरिकी राजदूतबाट हटाइएका म्यान्डेलसनले दिए लेबर पार्टीबाट राजीनामा
प्रकाशित मिति : माघ १८, २०८२ आईतबार
विवादास्पद यौनकाण्डमा जोडिएपछि बेलायतको लेबर पार्टीबाट लर्ड म्यान्डेलसनले राजीनामा दिएका छन्। दिवंगत तथा दोषी ठहरिएका यौन अपराधी जेफ्री एप्स्टिनसँगको आफ्नो सम्बन्धका कारण पार्टीलाई “थप लज्जित हुनु नपरोस्” भन्ने उद्देश्यले राजीनामा दिने निर्णय लिएको उनले बताएका छन्।
गत वर्ष एप्स्टिनसँगको पुरानो सम्बन्धका कारण अमेरिकी राजदूत पदबाट हटाइएका पूर्वक्याबिनेट मन्त्री लर्ड म्यान्डेलसन अमेरिकी न्याय मन्त्रालयले सार्वजनिक गरेको नयाँ फाइलहरूमा पुनः देखिएका छन्।
दस्तावेजअनुसार, एप्स्टिनले सन् २००३ र २००४ मा तीन पटक गरी प्रत्येक २५ हजार डलरका दरले कुल ७५ हजार डलर (झण्डै ५५ हजार पाउन्ड) लर्ड म्यान्डेलसनसँग सम्बन्धित भुक्तानी गरेका थिए।
लेबर पार्टीका महासचिवलाई लेखेको पत्रमा म्यान्डेलसनले भनेका छन्, “म फेरि जेफ्री एप्स्टिनसँग सम्बन्धित विवादमा जोडिएको छु, जसप्रति म दुःखी छु र खेद व्यक्त गर्दछु।” उनले एप्स्टिनका कारण पीडित भएका महिला र किशोरीहरूप्रति पनि पुनः माफी माग्दै उनीहरूको आवाज धेरै पहिल्यै सुन्नुपर्ने थियो भनेका छन्।
यसअघि आइतबार लर्ड म्यान्डेलसनले नयाँ सार्वजनिक गरिएका दस्तावेजहरू प्रामाणिक हुन् कि होइनन् भन्नेबारे आफू निश्चित नभएको बताएका थिए। नयाँ फाइलहरूमा लर्ड म्यान्डेलसनको अर्धनग्न तस्बिर पनि भेटिएको छ, जहाँ उनी एक महिलासँग उभिएको देखिन्छन्। तर, ती महिलाको अनुहार भने देखिँदैन। म्यान्डेलसनले उक्त तस्बिर कहिले, कहाँ र कुन परिस्थितिमा खिचिएको हो भन्ने आफूलाई सम्झना नभएको बताएका छन्।
तर, कन्जरभेटिभ पार्टीका प्रवक्ताले प्रधानमन्त्री किर स्टार्मरले “म्यान्डेलसनलाई पार्टीबाट निष्कासन गर्नुको साटो राजीनामा दिन लगाएको” भन्दै आलोचना गरेका छन्। कन्जरभेटिभ नेतृ केमी बेडेनकले पनि म्यान्डेलसनको सदस्यता निलम्बन गरी एप्स्टिनसँगको सम्बन्धबारे छानबिन सुरु गर्न माग गरेकी थिइन्।
लर्ड म्यान्डेलसनको लेबर पार्टीसँग लामो राजनीतिक इतिहास छ। उनका हजुरबुवा हर्बर्ट मोरिसन सन् १९४५ मा क्लेमेन्ट एट्लीको सरकारमा क्याबिनेट मन्त्री थिए। म्यान्डेलसनले १९८० को दशकदेखि लेबर पार्टीका लागि काम सुरु गरेका थिए।
उनी सन् २०२४ को डिसेम्बरमा प्रधानमन्त्री स्टार्मरद्वारा अमेरिकाका लागि बेलायती राजदूत नियुक्त भएका थिए। तर, एप्स्टिनसँगको मित्रतासम्बन्धी थप खुलासापछि अर्को सेप्टेम्बरमै उनी पदबाट हटाइएका थिए। राजदूत नियुक्त भएपछि उनी ‘हाउस अफ लर्ड्स’ बाट बिदामा रहेका थिए।
अमेरिकी न्याय मन्त्रालयले सार्वजनिक गरेका पछिल्ला फाइलहरू जुन गत वर्षको कानुनअनुसार अनिवार्य रूपमा सार्वजनिक गरिएका हुन् एप्स्टिनसम्बन्धी अहिलेसम्मकै सबैभन्दा ठूलो दस्तावेज संग्रह मानिन्छन्।






