अमेरिकामा आजदेखि हवाई यात्रामा नयाँ नियम, रियल आइडी नहुनेलाई ४५ डलर शुल्क
प्रकाशित मिति : माघ १८, २०८२ आईतबार
(आधिकारिक होमल्याण्ड सेक्युरिटी तस्बिर/ ब्यारी बहलर)
अमेरिकामा आजदेखि हवाई यात्रा गर्ने यात्रुहरूका लागि नयाँ र परिमार्जित नियम औपचारिक रूपमा कार्यान्वयनमा आएको छ।
यातायात सुरक्षा प्रशासन (टीएसए) ले ल्याएको नयाँ व्यवस्थाअनुसार, अबदेखि विमानस्थलको सुरक्षा जाँच विन्दुमा ‘रियल आइडी’ वा अन्य कुनै आधिकारिक परिचयपत्र नभएका यात्रुहरूले हवाई यात्राका लागि अतिरिक्त शुल्क तिर्नुपर्नेछ। यस्ता यात्रुहरूले ४५ डलर शुल्क तिरेर वैकल्पिक पहिचान प्रमाणीकरण प्रक्रियामार्फत उडान भर्न पाउने विकल्प दिइएको एड्मिनिस्ट्रेसनले जनाएको छ ।
भुक्तानीका क्रममा उल्लेख गरिएको यात्रा सुरु हुने मितिबाट दश दिनका लागि मात्रै मान्य हुने टीएसएले जनाएको छ । दश दिन समाप्त भएपछि पुनः ४५ डलर शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । दश दिनको अवधिभित्र स्वीकार्य परिचयपत्र बिना यात्रा गर्दा प्रत्येक पटक चेकप्वाइन्टमा आफ्नो भुक्तानी रसिद देखाउनुपर्छ । यसो गर्दा विद्युतीय प्रति देखाउन पाउने सुविधा प्रदान गरिएको छ ।
टीएसएका अनुसार, यो नियम ती यात्रुहरूका लागि लक्षित छ जो संघीय मापदण्डअनुसारको परिचयपत्र साथमा बोकेर यात्रा गर्दैनन्। प्रभावित यात्रुहरूले सरकारी पोर्टलमार्फत ४५ डलरको फिर्ता नहुने शुल्क भुक्तानी गर्नुपर्नेछ। भुक्तानी गरेपछि प्राप्त हुने १० अंकको पुष्टिकरण कोड विमानस्थलमा देखाउनुपर्नेछ। यो शुल्कबाट संकलित रकम परिचयपत्र नहुने यात्रुहरूको पहिचान प्रमाणीकरण गर्दा लाग्ने प्रशासनिक खर्चमा प्रयोग गरिनेछ।
प्रशासनले यो वैकल्पिक व्यवस्था भए तापनि यस प्रक्रियामा थप सुरक्षा जाँच र पहिचान प्रमाणीकरणका कारण ३० मिनेटसम्म ढिलाइ हुन सक्ने चेतावनी दिएको छ। ढिलाइ र सम्भावित उडान छुट्ने समस्याबाट बच्न उसले सबै यात्रुहरूलाई विमानस्थल जानुअघि नै रियल आइडी वा पासपोर्ट जस्ता स्वीकार्य परिचयपत्र साथमा राख्न आग्रह गरेको छ। जसले पहिल्यै शुल्क तिरेका छैनन्, उनीहरूले चेकपोइन्टमा थप झन्झट बेहोर्नुपर्ने बताइएको छ।
रियल आइडीको विकल्पमा यात्रुहरूले अमेरिकी सरकार वा विदेशी सरकारले जारी गरेको वैध राहदानी प्रयोग गर्न सक्छन्। त्यस्तै स्थायी बासिन्दा अनुमति पत्र (ग्रिन कार्ड) वा आइ-५५१ फारम पनि रियल आइडीको विकल्पमा प्रयोग गर्न सकिन्छ। अमेरिकी सैन्य परिचयपत्रका साथै सेवानिवृत्त सैनिक सदस्यहरूले पनि आफ्नो परिचयपत्रलाई विकल्पका रूपमा प्रयोग गर्न पाउनेछन्।
आन्तरिक सुरक्षा विभागद्वारा जारी गरिएको कार्य अनुमति पत्र,बोर्डर क्रसिङ कार्ड, विश्वसनीय यात्री परिचयपत्र (ग्लोबल इन्ट्री, नेक्सस, फास्ट) जस्ता कार्डहरू पनि रियल आइडीको सट्टामा प्रयोग गर्न सकिनेछ। क्यानडा सरकारद्वारा जारी चालक अनुमति पत्र र संघीय मान्यता प्राप्त जनजाति परिचयपत्रहरू पनि विकल्पका रूपमा मान्य हुनेछन्। विदेशी सरकारद्वारा जारी गरिएको फोटो सहितको चालक अनुमति पत्र पनि यसमा प्रयोग गर्न सकिने जनाइएको छ। कुन कुन परिचयपत्र स्वीकार गरिन्छ, थाहा पाउन यहाँ हेर्नुहोस् ।
अठार वर्षभन्दा मुनिका बालबालिकालाई अभिभावकसँग वा एक्लै यात्रा गर्दा परिचयपत्र अनिवार्य छैन। कागजात हराएको वा नवीकरण गर्न दिएको अवस्थामा सम्बन्धित निकायले उपलब्ध गराएको अस्थायी कागज यसमा प्रयोग गर्न मिल्दैन, किनभने यो स्वीकार गरिने परिचयपत्रको सूचीभित्र पर्दैन।
अमेरिकाको राष्ट्रिय सुरक्षालाई बलियो बनाउन रियल आइडी लागु गरिएको हो । पहिचानपत्रको दुरुपयोगलाई रोक्नु यसको अर्को उद्धेश्य रहेको छ ।
सन् २००१ को सेम्टेम्बरमा भएको आतंकवादी हमलापछि अमेरिकी कंग्रेसले सन् २००५ मा ‘रियल आईडी ऐन’ पारित गरेको हो । जसले सबै राज्यलाई परिचयपत्र जारी गर्दा एउटै सुरक्षा मापदण्ड तोकिएको थियो । रियल आइडीजस्ता परिचयपत्रहरुमा विशेष प्रकारको डिजिटल सेक्युरिटी फिचरहरु प्रयोग गरिएको छ, जसले गर्दा यसको नक्कल गर्न प्रायः असंभव बनाइएको छ । सरकारले हवाइ यात्रुहरुको वास्तविक पहिचान सुनिश्चित गर्ने उद्धेश्य पनि राखेको छ ।
विमानस्थलको सुरक्षा जाँच र संघीय कार्यालयहरूमा प्रवेश गर्दा राज्यले जारी गरेको साधारण लाइसेन्सको सट्टा कडा जाँचपछि मात्र प्राप्त हुने रियल आईडी अनिवार्य गरिएको हो। रियल आइडीको विकल्पमा स्वीकार गरिने सूचीमा भएका परिचयपत्रहरुको म्याद सकिएको भए पनि स्वीकार गर्न सकिने टीएसएले जनाएको छ ।






