अमेरिकाद्वारा दक्षिण कोरियाबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने घोषणा


प्रकाशित मिति : माघ १२, २०८२ सोमबार

फोटो : एपी/रासस

अमेरिकाले दक्षिण कोरियाबाट आयात हुने वस्तुहरूमा भन्सार शुल्क (ट्यारिफ) २५ प्रतिशत पुर्‍याउने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाले गत वर्ष भएको व्यापार सम्झौताका सर्तहरू “पूरा नगरेको” आरोप लगाउँदै आयात शुल्क २५ प्रतिशत पुर्‍याउने घोषणा गरेका हुन्।

सामाजिक सञ्जालमा गरिएको एक पोस्टमा ट्रम्पले दक्षिण कोरियामाथि लाग्ने ट्यारिफ १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याइने बताएका छन्। यसमा मोटरगाडी, काठजन्य सामग्री, औषधि तथा “अन्य सबै पारस्परिक ट्यारिफ अन्तर्गतका” उत्पादनहरू समावेश छन्।

ट्रम्पका अनुसार दक्षिण कोरियाली सांसदहरूले सम्झौता अनुमोदन गर्न ढिलाइ गरिरहेका छन्। अमेरिकाले भने सम्झौताअनुसार आफ्ना ट्यारिफ छिटो घटाउने काम गरिसकेको उनको दाबी छ। तर, दक्षिण कोरियाले केही वस्तुमा ट्यारिफ बढाउने निर्णयबारे औपचारिक सूचना नपाएको जनाएको छ। यस विषयमा अमेरिकासँग तत्काल वार्ता गर्ने दक्षिण कोरियाले बताएको छ।

दक्षिण कोरियाले आफ्ना उद्योग मन्त्री किम जङ–क्वान हाल क्यानडामा रहेकाले सकेसम्म चाँडो अमेरिका जाने र अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुटनिकसँग भेट्ने जानकारी दिएको छ। दक्षिण कोरिया र अमेरिकाबीच गत अक्टोबरमा सम्झौता भएको थियो, जसअनुसार दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो। सो लगानीको केही हिस्सा जहाज निर्माण क्षेत्रमा जाने बताइएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसको एक महिनापछि, दक्षिण कोरियाले सम्झौता अनुमोदन प्रक्रिया सुरु गरेसँगै अमेरिकाले केही वस्तुमा ट्यारिफ घटाउने सहमति गरेको थियो।

ट्यारिफ भनेको के हो? ट्यारिफ आयात गर्ने कम्पनीहरूले तिर्नुपर्ने कर हो। यस अवस्थामा, अमेरिकी कम्पनीहरूले दक्षिण कोरियाबाट किनिएका वस्तुमा २५ प्रतिशत कर तिर्नुपर्ने हुन्छ।

ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा विदेश नीतिमा दबाब सिर्जना गर्न ट्यारिफलाई बारम्बार हतियारका रूपमा प्रयोग गर्दै आएका छन्। शनिबार मात्र उनले क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा १०० प्रतिशत ट्यारिफ लगाउने धम्की दिएका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com