काठमाडौंपछि देशभर लागू हुँदै विदेशी नागरिक ट्र्याकिङ प्रणाली
प्रकाशित मिति : माघ १२, २०८२ सोमबार
काठमाडौँको बौद्धस्थित विश्व सम्पदामा सूचीकृत बौद्धनाथ स्तुपामा घुम्न आएका विदेशी पर्यटक ।
जनवरी १ देखि नेपाल आएर काठमाडौंमा बसोबास गर्ने हरेक विदेशी नागरिकको नयाँ प्रणालीमार्फत ट्र्याकिङ सुरु गरिएकोमा मार्च १ देखि यसको विस्तार देशव्यापी रूपमा गरिने भएको छ। नेपाल सरकारको अध्यागमन विभागले विदेशी नागरिकहरूको प्रवेश, बसाइ र गतिविधिलाई व्यवस्थित गर्न विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली विकास गरेको हो।
यो प्रणाली जनवरी १, २०२६ देखि पहिलो चरणमा काठमाडौं उपत्यकाका सबै तारे होटलहरूमा अनिवार्य गरिएको थियो। मार्च १ देखि भने देशभरका तारे होटल, विमान कम्पनी, टुर एजेन्सी तथा मनी एक्सचेन्जरहरूमा लागू गर्ने तयारी भइरहेको छ। यसलाई क्रमिक रूपमा अन्य होटल, गेस्ट हाउस, रेस्टुरेन्ट तथा सेवा प्रदायक संस्थाहरूमा पनि विस्तार गरिने अध्यागमन विभागले जनाएको छ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी भन्छन्, “यो प्रणालीले विदेशी नागरिकको सुरक्षा, आपराधिक अनुसन्धानमा सहयोग, आपत्कालीन उद्धार तथा सूचना उपलब्धतामा ठूलो सहजता ल्याउनेछ। प्रणाली लागू भएपछि होटल वा अन्य सेवा प्रदायक संस्थामार्फत नै सूचना प्राप्त हुने भएकाले विदेशी पाहुनालाई थप कागजी झन्झट वा दायित्व थपिँदैन।”
विदेशी नागरिकहरूको व्यवस्थापन तथा सुरक्षा अभिवृद्धिका लागि तयार पारिएको यस प्रणालीबारे अध्यागमन विभागले नेपालस्थित विभिन्न दूतावास तथा नियोगका कन्सुलर अधिकारीहरूसँग अन्तरक्रिया समेत गरेको थियो। कन्सुलर विभागको समन्वयमा आयोजित उक्त कार्यक्रममा प्रणाली सञ्चालन, तथ्यांक संरक्षण, नियोगहरूको अपेक्षित भूमिका तथा विदेशी पर्यटक र नागरिकमाथि पर्ने प्रभावबारे विस्तृत छलफल भएको थियो।
कन्सुलर विभागका महानिर्देशक दुरपदा सापकोटाले अन्तर्राष्ट्रिय सम्झौता तथा दायित्व पूरा गर्न यो प्रणाली विकास गरिएको उल्लेख गर्दै विदेशी नियोगहरूलाई व्यक्तिगत डाटाको गोपनीयता र सुरक्षा पूर्ण रूपमा सुनिश्चित गरिएको जानकारी दिइन्।

विभिन्न मुलुकका कन्सुलर अधिकारीहरूले प्रणालीको प्राविधिक पक्ष, डाटा सुरक्षा मापदण्ड, नियोगबाट अपेक्षित सहयोग तथा विदेशी नागरिकले वहन गर्नुपर्ने न्यूनतम जिम्मेवारीबारे जिज्ञासा राखेका थिए। छलफलका क्रममा व्यक्तिगत गोपनीयतासम्बन्धी चासो बढी देखिएको उल्लेख गर्दै अध्यागमन विभागले सबै प्रश्नको स्पष्ट जवाफ दिँदै प्रणाली पारदर्शी र पर्यटकमैत्री हुने प्रतिबद्धता जनाएको छ।
हालसम्म १,५०० भन्दा बढी सेवा प्रदायक निकाय प्रणालीमा दर्ता भइसकेका छन्। प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालालाई प्रणालीमा आबद्ध हुन विभागले आह्वान गरेको छ। साथै, अध्यागमन विभागले विभिन्न प्रदेशमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ। हालै चितवनमा पनि यस्तै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको विभागले जनाएको छ।
अध्यागमन विभागले विदेशी नागरिकको सुरक्षा सुनिश्चित गर्दै अपराध नियन्त्रणमा सहयोग पु¥याउने, साथै पर्यटन क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने लक्ष्य राख्दै आएको छ।
किन गरिदैछ ट्रयाकिङ?
विभागका प्रवक्ता टिकाराम ढकालले हालै खसोखाससँगको कुराकानीमा यो प्रणालीलाई विगत चार–पाँच आर्थिक वर्षदेखि नै वार्षिक कार्यक्रममा समावेश गरिएको भए पनि प्राविधिक समस्याका कारण कार्यान्वयन हुन ढिलो भएको बताएका थिए ।
प्रवक्ता ढकालका अनुसार, यो प्रणालीले नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरूको अभिलेख व्यवस्थापन, स्वतन्त्र आवागमन नियमन र पर्यटन प्रवर्द्धनलाई मुख्य रूपमा जोड दिनेछ। अन्तर्राष्ट्रिय सम्झौता तथा कानुनहरूअनुसार विदेशी नागरिकहरूको सुरक्षा, ट्रेकिङ तथा आपतकालीन उद्धारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। “यो प्रणालीले विदेशी नागरिकहरूको बसाइँ, भिसा अवधि तथा क्रियाकलाप ट्र्याक गर्न मद्दत गर्नेछ, जसले अध्यागमन अपराधहरू जस्तै लागूऔषधि कारोबार, मानव तस्करी र विदेशी मुद्रा अपचलनलाई नियन्त्रण गर्न सहयोग पुग्नेछ,” ढकालले भने।
विभागले यो प्रणालीलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने योजना बनाएको थियो। पहिलो चरणमा सेप्टेम्बरदेखि काठमाडौँ उपत्यकाका तारे होटेलहरूबाट सुरु गर्ने, दोस्रो चरणमा नोभेम्बरदेखिदेखि मनी एक्सचेन्जर, विमान कम्पनी तथा टुर्स एन्ड ट्राभल्स कम्पनीहरूमा अनिवार्य गर्ने र तेस्रो चरणमा सबै सेवा प्रदायक निकायहरूमा लागू गर्ने कार्ययोजना थियो।

तर, सेप्टेम्बरमा भएको प्रदर्शन र हिंशाका कारण होटेल तथा निजी क्षेत्र प्रभावित भएको र प्राविधिक समस्या देखिएको भन्दै सरोकारवालाहरूले सन् २०२६ जनवरीदेखि मात्र कार्यान्वयन गर्न अनुरोध गरेका थिए।
यो प्रणालीले विदेशी नागरिकहरूको भिसा अवधि समाप्त भएपछि सिस्टमबाटै पप–अप सूचना दिनेछ, जसले डिपोर्टेशन तथा अनुसन्धानमा सहजता ल्याउने अपेक्षा छ। नेपालमा हरेक वर्ष ठूलो सङ्ख्यामा विदेशी नागरिकहरूलाई अध्यागमन अपराधका कारण डिपोर्ट गरिने गरेको र खुला सीमाको फाइदा उठाएर उनीहरू भारत हुँदै फर्किने प्रवृत्ति देखिएको ढकालले उल्लेख गरे। “यो प्रणाली अन्तरगत विदेशीहरुको पछिल्लो लोकेशन ट्र्याक गर्न सजिलो हुनेछ, जसले खोज तथा उद्धार कार्यमा पनि मद्दत पुग्नेछ,” उनले भने।
भारतीय नागरिकहरूको हकमा पनि यो प्रणाली लागू हुने स्पष्ट गर्दै ढकालले भने, “भारतीय नागरिकहरू होटेलमा बस्दा कागजात पेश गर्नुपर्छ र उनीहरूको विवरण रजिस्ट्रेसन हुन्छ। थर्ड कन्ट्रीबाट भारत हुँदै आउनेहरूले अध्यागमनबाटै भिसा लिन्छन्।” विभागले ७७ वटै जिल्लाका अनुगमन समितिहरूलाई यो प्रणालीबारे जानकारी गराइसकेको छ। सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत नियमित अनुगमन हुने विभागले जनाएको छ।
कति विदेशी आउँछन् नेपालमा?
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । नेपाल भित्रिने विदेशी पर्यटकहरूमा सबै भन्दा धेरै भारतीय रहेका थिए । बोर्डका अनुसार एक वर्षमा छिमेकी मुलुक भारतबाट दुई लाख ९२ हजार ४३८ जना पर्यटक नेपाल घुम्न आए । यस्तै दोस्रोमा अमेरिका रहेको छ । सन् २०२५ मा एक लाख १२ हजार ३१६ अमेरिकी पर्यटकलाई नेपालले स्वागत गरेको थियो भने तेस्रोमा रहेको चीनबाट ९५ हजार ४८० पर्यटक नेपाल उत्रिएका थिए ।
सन् २०२५ मा बेलायतबाट ५८ हजार ६८४, बङ्गलादेशबाट ५७ हजार ५४५, अस्ट्रेलियाबाट ४९ हजार ३५७ श्रीलङ्काबाट ३७ हजार ५५० जना पर्यटक नेपाल भित्रिएका थिए । त्यस्तै, थाइल्यान्डबाट ३० हजार २४३, जर्मनीबाट ३० हजार २२७ र जापानबाट २४ हजार ७६३ पर्यटक नेपाल घुम्न आएका थिए।

सन् २०२५ को डिसेम्बरमा मात्रै ९८ हजार १९० पर्यटक नेपाल आएका थिए । डिसेम्बरमा छिमेकी मुलुक भारतबाट ३० हजार ९३, चीनबाट आठ हजार ६८०, अमेरिकाबाट ७ हजार ७७ पर्यटक नेपाल भित्रिए । यस्तै, बङ्गलादेशबाट छ हजार ६०५, अस्ट्रेलियाबाट चार हजार ९८०, थाइल्यान्डबाट चार हजार ४१९, बेलायतबाट चार हजार २३४, म्यानमारबाट तीन हजार ७९३, जापानबाट दुई हजार ७५८ र मलेसियाबाट दुई हजार ४२९ पर्यटक भित्रिएका थिए ।
पर्यटन बोर्डका अनुसार अघिल्लो वर्ष सन् २०२४ मा भने ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२४ को तुलनामा गत वर्ष विदेशी पर्यटक आगमन ० दशमलव ९५ प्रतिशतले वृद्धि भएको हो । यस्तै, सन् २०१९ (कोरोना महामारीअघि) को तुलनामा यो सङ्ख्या ९६ दशमलव ८ प्रतिशत रिकभरी रहेको बोर्डले जनाएको छ ।






