अमेरिकामा टिकटक विवाद समाधान: एडम प्रेसरलाई सीईओको जिम्मेवारी


प्रकाशित मिति : माघ ८, २०८२ बिहीबार

black iphone 4 on black textile

अमेरिकामा टिकटकको स्वामित्व किनेर त्यसको सञ्चालनका लागि एक कार्यदल बनाइएको छ। ‘जोइन्ट भेन्चर’ (संयुक्त उपक्रम) औपचारिक रूपमा गठन गर्दै यसको नेतृत्व टोलीको पनि घोषणा गरिएको हो।

संयुक्त उपक्रमको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा एडम प्रेसर रहनेछन्। उनले यसअघि अमेरिकामा टिकटक प्रयोगकर्ताको डेटा सुरक्षित राख्ने पहलको नेतृत्व गरेका थिए। प्रमुख सुरक्षा अधिकृतमा विल फरेल नियुक्त भएका छन्, जसले गोपनीयता र सुरक्षासम्बन्धी काम सम्हाल्नेछन्।

यो संयुक्त उपक्रमको निरीक्षण गर्ने बोर्डमा टिकटक युएसका सीईओ शोउ चिउ, ओरेकलका कार्यकारी उपाध्यक्ष केनेथ ग्लुक, लगानी कम्पनी सस्क्वेहाना इन्टरनेसनल ग्रुप, निजी इक्विटी फर्म सिल्भर लेक, र यूएई समर्थित लगानी संस्था एमजिएक्स का प्रतिनिधिहरू रहनेछन्।

यो घोषणा राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ माउ कम्पनी बाइटडान्सलाई टिकटकको अमेरिकी व्यवसाय अलग गर्न दिएको अन्तिम म्यादभन्दा एक दिनअघि गरिएको हो। यो सम्झौता सम्पन्न भएसँगै अमेरिकामा टिकटकको दीर्घकालीन भविष्य सुनिश्चित भएको छ। यसले राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याएको भन्ने वर्षौँदेखिको चिन्तालाई समेत सम्बोधन गरेको कम्पनीले जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बहुसंख्यक अमेरिकी स्वामित्वमा रहेको यस संयुक्त उपक्रमले अमेरिकी प्रयोगकर्ताहरूका लागि डेटा सुरक्षा, एल्गोरिदम सुरक्षा, सामग्री नियमन र सफ्टवेयर आश्वासनमार्फत राष्ट्रिय सुरक्षाको रक्षा गर्ने बताएको छ।

अमेरिकामा टिकटकसम्बन्धी विवाद ट्रम्पको पहिलो कार्यकालमा सुरु भएको थियो। त्यतिबेला उनले यो एपलाई प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए। सन् २०२४ मा तत्कालीन राष्ट्रपति जो बाइडेनले टिकटकको अमेरिकी संस्करणलाई बाइटडान्सबाट अलग नगरे प्रतिबन्ध लगाइने कानुनमा हस्ताक्षर गरेपछि यो विषय झन् चर्किएको थियो।

ट्रम्पको दोस्रो कार्यकालमा भने उनले टिकटकको अमेरिकी सञ्चालनलाई अमेरिकी स्वामित्वमा लैजाने सम्झौता खोज्दै उक्त कानुनको कार्यान्वयन पटक–पटक स्थगित गरेका थिए। गत वर्षको शरद ऋतुमा सम्झौतालाई स्वीकृति दिँदै ट्रम्पले जनवरी २३ लाई अन्तिम म्याद तोकेका थिए। टिकटकले गत महिना मात्र सम्झौतामा हस्ताक्षर गरेको थियो।

यो सम्झौता टिकटकका २० करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ताका लागि सकारात्मक समाचार हो, किनकि धेरै प्रयोगकर्ताहरू मनोरञ्जन, समाचार तथा रोजगारीका लागि समेत टिकटकमा निर्भर छन्।

सम्झौताअनुसार टिकटकको अमेरिकी प्रयोगकर्ताको डेटा र अधिकांश अमेरिकी सञ्चालन अब नयाँ संयुक्त उपक्रमको नियन्त्रणमा गएको छ। यसमध्ये ५० प्रतिशत स्वामित्व ओरेकल, सिल्भर लेक र एमजिएक्स सम्मिलित लगानीकर्ता समूहसँग रहनेछ।

करिब ३० प्रतिशतभन्दा बढी हिस्सा बाइटडान्सका हालका केही लगानीकर्तासँग सम्बद्ध संस्थाहरूको हुनेछ भने १९.९ प्रतिशत हिस्सा बाइटडान्सले नै राख्नेछ। गत महिना शोउ चिउले कर्मचारीहरूलाई पठाएको मेमोमा यो कुरा उल्लेख गरिएको छ।

नयाँ संस्थाले अमेरिकी प्रयोगकर्ताको डेटा प्रयोग गरी टिकटकको एल्गोरिदमलाई पुनः प्रशिक्षित (Re-train) गर्ने योजना बनाएको छ। अमेरिकी प्रयोगकर्ताको डेटा भण्डारणको निगरानी ओरेकलले गर्नेछ भने सामग्री नियमनको जिम्मेवारी पनि यसै संयुक्त उपक्रमले सम्हाल्नेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com