अमेरिका: क्लिन्टन दम्पतीलाई संसदको अवहेलना अभियोग लगाउने तयारीप्रति पूर्वसभामुख पेलोसी असन्तुष्ट


प्रकाशित मिति : माघ ८, २०८२ बिहीबार

फोटो : विकिपिडिया

अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई संसद्को अवहेलना अभियोग लगाउने पक्षमा मतदान भएपछि पूर्वसभामुख न्यान्सी पेलोसीले कडा असन्तुष्टि व्यक्त गरेकी छन्।

अमेरिकी प्रतिनिधि सभाको ‘ओभरसाइट कमिटी’का झन्डै आधा डेमोक्र्याट सदस्यहरूले जेफ्री एपस्टिन सम्बन्धी अनुसन्धानका लागि जारी गरिएको ‘सब्पोना’ पालना नगरेको आरोपमा क्लिन्टन दम्पतीलाई कांग्रेसको अवहेलनामा राख्ने पक्षमा मतदान गरेपछि पेलोसी निराश भएकी हुन्। उनले यसबारे आफ्नो असन्तुष्टि स्पष्ट रूपमा व्यक्त गरेकी छन्।

सब्पोना भनेको अदालत, कांग्रेस वा कानुनी अधिकार प्राप्त निकायले कुनै व्यक्ति वा संस्थालाई अनिवार्य रूपमा उपस्थित हुन, बयान दिन, वा कागजात तथा प्रमाण पेस गर्न जारी गर्ने कानुनी आदेश हो।

एक निजी बैठकमा पेलोसीले आफ्नै दलका सांसदहरूले अवहेलना प्रस्तावलाई समर्थन गरेकोमा आपत्ति जनाइन्। उनका अनुसार क्लिन्टन दम्पती अझै पनि भविष्यमा उपस्थित हुने सर्तहरूबारे कमिटीसँग वार्तामै थिए। बैठकमा सहभागी एक स्रोतले पेलोसीको शैलीलाई “दृढ र स्पष्ट” भन्दै व्याख्या गरेको छ। स्रोतका अनुसार, “उनले निकै गम्भीरताका साथ कुरा राखिन्, किनकि उनलाई आफ्नो आवाजको प्रभावबारे राम्रो ज्ञान छ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पेलोसीले न्याय मन्त्रालयले एपस्टिन सम्बन्धी सबै अनुसन्धान फाइलहरू सार्वजनिक नगरेसम्म क्लिन्टनहरूविरुद्ध कुनै पनि कारबाही अघि नबढाउन सुझाव दिएकी छन्। उनले क्लिन्टन दम्पतीलाई ट्रम्पका सहयोगीहरू स्टिभ ब्यानन र पिटर नाभारोजस्तै व्यवहार गरिनुपर्ने तर्कलाई समेत अस्वीकार गरिन्। ब्यानन र नाभारो सन् २०२१ जनवरी ६ मा क्यापिटल हिलमा भएको आक्रमणको अनुसन्धानका क्रममा सब्पोना उल्लंघन गर्दा दोषी ठहर भई जेल सजाय भोगिरहेका छन्।

एपस्टिन प्रकरणमा जारी सब्पोना पालना नगरेको विषयले डेमोक्र्याटभित्रको आन्तरिक विभाजनलाई सतहमा ल्याइदिएको छ। क्लिन्टन दम्पतीले क्यापिटल हिलमा शपथसहित बयान दिन बाध्य पार्ने प्रयासलाई “अन्यायपूर्ण र कानुनी रूपमा बाध्यकारी नभएको” भन्दै अस्वीकार गर्दै आएका छन्। उनीहरूले ओभरसाइट कमिटीसँग अनुसन्धानमा सहभागी हुने वैकल्पिक तरिकाबारे वार्ता गर्न चाहेका थिए।

यो घटनाले डेमोक्र्याटहरूलाई राजनीतिक रूपमा अप्ठ्यारो स्थितिमा पुर्‍याएको छ। एकातिर उनीहरू एपस्टिन अनुसन्धानमा पारदर्शिताको माग गरिरहेका छन् भने अर्कोतिर रिपब्लिकनहरूले क्लिन्टन परिवारमाथि मात्रै ध्यान केन्द्रित गर्दा आफ्ना नेताहरूको संरक्षणमा सावधानी अपनाउनुपर्ने चुनौतीमा छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com