न्यूयोर्कमा बिजुलीको मूल्य ९% र ग्यासको मूल्य ६%बृद्धि
प्रकाशित मिति : माघ ८, २०८२ बिहीबार
न्यूयोर्कको सार्वजनिक सेवा आयोगले बिहीबारदेखि लागू हुने गरी ऊर्जा प्रदायक कम्पनी कन एडको नयाँ महसुल दर स्वीकृत गरेको छ। निर्णयसँगै न्यूयोर्क सिटी र वेस्टचेस्टर काउन्टीका ग्राहकहरूले अब बिजुली र ग्यासका लागि बढी शुल्क तिर्नुपर्ने भएको छ।
नयाँ व्यवस्था अनुसार आगामी तीन वर्षको अवधिमा बिजुलीको महसुलमा ९ प्रतिशत र ग्यासमा ६ प्रतिशत वृद्धि गरिएको छ। यस वृद्धिले न्यूयोर्कका करिब ३७ लाख विद्युत उपभोक्ता र ११ लाख ग्यास उपभोक्तालाई प्रत्यक्ष असर गर्नेछ। जसका कारण औसतमा एक परिवारको मासिक बिजुली बिल ४ डलरले बढ्नेछ भने ग्यासको बिलमा मासिक ५ देखि १९ डलरसम्मको अतिरिक्त भार थपिने देखिएको छ।
आयोगका अनुसार यो वृद्धि मुख्यतया विद्युत ढुवानी गर्ने भौतिक पूर्वाधारको स्तरोन्नति र सम्पत्ति करमा भएको बृद्धिका कारण गरिएको हो। संकलित रकम ऊर्जा दक्षता सुधार, सूचना प्रविधिको विकास, ग्यास चुहावट मर्मत र जलवायु परिवर्तनको चुनौती सामना गर्न पुरानो ग्रिडलाई आधुनिक बनाउन खर्च गरिनेछ। यो वृद्धि ऊर्जाको आफ्नै मूल्यमा नभई वितरण प्रणाली र सेवा सञ्चालनमा गरिएको हो।
कन एडले गत वर्ष अझ उच्च वृद्धिको प्रस्ताव गरे तापनि गभर्नर क्याथी होकुल लगायतका अधिकारीहरूको विरोधका कारण त्यसबेला निर्णय हुन सकेको थिएन। अहिले स्वीकृत भएको दर कम्पनीले सुरुमा माग गरेभन्दा निकै कम हो।
नयाँ निर्णयले कन एडलाई थप जिम्मेवार र पारदर्शी बनाउने प्रयास गरेको छ। अब कम्पनीले बिलमा सम्पत्ति करको हिस्सा स्पष्ट खुलाउनुपर्नेछ। साथै भाडामा बस्नेहरूको हकमा बिजुली काटिने समस्या कम गर्न घरबेटीहरूसँग समन्वय गर्ने र अंग्रेजी बाहेक अन्य १२ भाषाहरूमा सूचनामूलक सामग्री उपलब्ध गराउनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।
यस अघि गरिएको महसुल वृद्धिको तुलनामा यो वृद्धि केही कम हो। सन् २०२३ मा १२ प्रतिशत र २०२० मा १३ प्रतिशतले महसुल वृद्धि गरिएको थियो।






