के ग्रीनकार्ड वाहक अहिले अमेरिकाबाहिर यात्रा गरेर फर्कन सुरक्षित छन्? कानुन व्यवसायीका १० मार्गदर्शन


प्रकाशित मिति : माघ ७, २०८२ बुधबार

अमेरिकामा बसोबास गरिरहेका नेपाली ग्रीनकार्ड वाहकबीच पछिल्लो समय नेपाल यात्रापछि स्थायी आवास स्टाटस गुम्ने डर बढेको छ। तर न्यूयोर्कका आप्रवासन कानुन व्यवसायी केशव सेडाई भन्छन्, “ग्रीन कार्ड सधैंका लागि स्वतः सुरक्षित हुँदैन, तर सामान्य सावधानी अपनाए अधिकांश यात्रा कानुनी रूपमा पूर्णतः सुरक्षित हुन्छ।”

सेडाईका अनुसार केही चरणमा गल्ती, लापरवाही वा कानुनी गलत बुझाइका कारण ग्रीनकार्ड स्टाटस संकटमा पर्न सक्छ। उनले विशेषगरी नेपाल भ्रमण, आपराधिक इतिहास, र ‘कन्डिशनल’ कार्डवाहकका अवस्थालाई संवेदनशील जोखिमका रूपमा औंल्याएका छन्।

एसाइलमको आधारमा ग्रीन कार्ड पाएका नेपालीले नेपाल फर्किँदा विशेष सावधानी अपनाउनुपर्ने सेडाईले बताएका छन्। “नेपालमा पहिले डर थियो भने अहिले किन सुरक्षित भयो भन्ने प्रश्न सीबीपीले सोध्न सक्छ,” उनले भने। यस्तो अवस्थाले तुरुन्तै कार्ड खारेज नगरे पनि थप निरीक्षण, भविष्यका नागरिकता आवेदन समस्याहरू वा एसाइलम दाबीमाथि प्रश्न उठ्न सक्छ।

कानून व्यवसायी केशवराज सेडाई । फोटो: राजन काफ्ले

उनका अनुसार साना देखिने वा पुराना आपराधिक केसमाझैं मादक पदार्थ चलाएर गाडी चलाएका घटना, घरेलु हिंसा, चोरी, ठगी वा लागूऔषध अपराध पनि एयरपोर्ट निरीक्षणका क्रममा गंभीर समस्या बन्न सक्छन्। संघीय आप्रवासन कानुनले राज्यस्तरमा खारेज भएका वा मेटाइएका केसलाई पनि पुनः परीक्षण गर्न सक्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेडाईका अनुसार दुई वर्षे शर्तसहितको ग्रीन कार्ड भएका व्यक्तिहरूले शर्त हटाउने आवेदन समयमै फाइल नगरेमा कार्ड स्वतः रद्द हुन्छ र नेपाल यात्रा निकै जोखिमपूर्ण हुन्छ। फाइल भएको तर अझै विचाराधिन अवस्थामा रहेका व्यक्तिहरूले यात्रा अघि एडीआईटी स्ट्याम्प लिनु सुरक्षित रहने उनले सल्लाह दिएका छन्।

“विमानका कर्मचारी वा इमिग्रेशन अधिकृतले एक्सटेन्सन पत्र बुझ्न नसक्ने सम्भावना हुन्छ, त्यसैले एडीआईटी स्ट्याम्प लिनु नै उत्तम अभ्यास हो,” सेडाईको भनाइ छ।

ग्रीन कार्डवाहकले विदेशमा अत्यधिक समय बिताए स्थायी बसोबास त्यागेको ठहर हुन सक्छ। सेडाईका अनुसार तीन महिनाभित्र फर्किने यात्रा सामान्यतया सुरक्षित हुन्छ, तर छ महिनाभन्दा बढी बसाइ जोखिमपूर्ण र एक वर्षभन्दा बढी बसाइ अप्रत्याशित रूपमा गम्भीर असर पार्न सक्छ। “यदि लामो अवधि बाहिर बस्नुपर्ने विशेष कारण छ भने अमेरिका छोड्नु अघि रिइन्ट्री पर्मिट लिनु जरुरी छ,” उनले भने।

सेडाईले नेपाली समुदायका लागि १०-बुँदे सुरक्षित यात्रा मार्गदर्शन पनि दिएका छन्। यात्रालाई ६ महिनाभन्दा छोटो राख्ने, हरेक वर्ष अमेरिकी बासिन्दा भएर कर फाइल गर्ने, अमेरिका घर वा लिज कायम राख्ने, वैध ड्राइभर लाइसेन्स र बैंक खाता सक्रिय राख्ने, आप्रवासन कागजात प्रिन्ट रूपमै साथमा राख्ने, शर्तसहितको कार्ड भए समयमै शर्त हटाउने आवेदन फाइल गर्ने, अपराध पृष्ठभूमि भए वकिलसँग समीक्षा गर्ने, एयरपोर्टमा आई ४०७  कानुनी सल्लाह बिना साइन नगर्ने सेडाईका १०-बुँदे सुरक्षित यात्रा मार्गदर्शन हुन् ।

सेडाईले भने, “ग्रीन कार्ड डराउनका लागि होइन—जोगाएर उपयोग गर्नका लागि हो।” उनका अनुसार अमेरिका भित्र काम, कर र जीवन केन्द्रित ग्रीन कार्ड वाहकले छोटो र सचेत यात्रामा डर मान्नुपर्ने कारण छैन। तर एसाइलम केस, आपराधिक पृष्ठभूमि, वा बारम्बार विदेश बसाइ भएका व्यक्तिहरूले यात्रा अघि अनुभवी आप्रवासन वकिलसँग सल्लाह लिनैपर्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com