ग्रिनल्याण्ड नियन्त्रणमा बल प्रयोग नगर्ने ट्रम्पको स्पष्टोक्ति, तत्काल वार्ताको प्रस्ताव


प्रकाशित मिति : माघ ७, २०८२ बुधबार

स्विट्जरल्याण्डको डाभोसमा बुधबार विश्व आर्थिक मञ्चको ५६ औं वार्षिक बैठकमा बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । तस्वीर : जियान एरेन्जेलर/कीस्टोन/ एपी-रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई नियन्त्रणमा ल्याउने आफ्नो प्रयासमा बल प्रयोग नगर्ने स्पष्ट गरेका छन्। बुधबार स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्च (डब्ल्यूइएफ)को वार्षिक बैठकमा सम्बोधन गर्दै ट्रम्पले डेनमार्कअन्तर्गत रहेको उक्त भू–भागलाई सुरक्षित गर्न अमेरिका बाहेक अन्य कुनै पनि देश सक्षम नरहेको दाबी गरे।

ट्रम्पले आफ्नो भाषणमा भने, “मानिसहरूले म बल प्रयोग गर्छु भनेर सोचेका थिए, तर मलाई बल प्रयोग गर्न आवश्यक छैन। म बल प्रयोग गर्न चाहन्नँ। म बल प्रयोग गर्नेछैनँ।” ट्रम्पका यी अभिव्यक्तिहरू ट्रान्स–एटलान्टिक सम्बन्ध कमजोर बन्दै गएको र ग्रिनल्याण्ड अधिग्रहणको विषयमा युरोपसँग बढ्दो तनावबीच आएका हुन्।

ग्रिनल्याण्ड अधिग्रहणबारेको बहसले छायाँ पारेको उक्त आर्थिक भाषणमा ट्रम्पले विषयलाई ‘बरफको एउटा टुक्रा’का लागि गरिएको ‘सानो माग’को रूपमा प्रस्तुत गरे। उनले ग्रिनल्याण्ड अधिग्रहणले डेनमार्क र अमेरिका सदस्य रहेको नाटो गठबन्धनलाई कुनै खतरा नपुग्ने पनि दाबी गरे।

“संयुक्त राज्य अमेरिका बाहेक कुनै पनि राष्ट्र वा राष्ट्रहरूको समूह ग्रिनल्याण्डलाई सुरक्षित गर्न सक्षम छैन,” ट्रम्पले भने। उनले थपे, “ग्रिनल्याण्डलाई संयुक्त राज्य अमेरिकाले अधिग्रहण गर्ने विषयमा पुनः छलफल गर्न म तत्काल वार्ता गर्न चाहन्छु।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मंगलबार राष्ट्रपतिको रुपमा आफ्नो दोस्रो कार्यकालको पहिलो वर्षको अन्त्य गरेका ट्रम्प डब्ल्यूइएफको एजेन्डामाथि पनि छायाँ पार्ने अनुमान गरिएको छ। डब्ल्यूइएफमा विश्वभरका व्यवसायिक, राजनीतिक तथा आर्थिक क्षेत्रका प्रभावशाली व्यक्तिहरूले समसामयिक आर्थिक र राजनीतिक प्रवृत्तिहरूको समीक्षा गर्छन्।

यसैबीच, नाटोका नेताहरूले ट्रम्पको ग्रिनल्याण्ड रणनीतिले गठबन्धनलाई अस्थिर बनाउन सक्ने चेतावनी दिएका छन्। अर्कोतर्फ, डेनमार्क र ग्रिनल्याण्डका नेताहरूले करिब ५७ हजार जनसंख्या भएको उक्त रणनीतिक टापु क्षेत्रमा अमेरिकी उपस्थितिलाई बढाउने विभिन्न विकल्प र प्रस्तावहरू अघि सारेका छन्।

डाभोसको सम्मेलन हलमा व्यवसायिक र राजनीतिक नेताहरूको बाक्लो उपस्थितिमाझ ट्रम्पले भने, “हामी विश्व सुरक्षाका लागि बरफको एउटा टुक्रा चाहन्छौँ । तर, उनीहरूले दिँदैनन्।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com