चागोस टापु मोरिससलाई हस्तान्तरण गर्ने निर्णयप्रति अमेरिका आक्रोशित
प्रकाशित मिति : माघ ६, २०८२ मंगलबार
बेलायत सरकारले चागोस टापुहरू मोरिससलाई हस्तान्तरण गर्ने सम्झौताको बचाउ गरेको छ। उक्त सम्झौतामा त्यहाँ रहेको प्रमुख सैन्य अड्डा भने पुनः भाडामा लिने उल्लेख छ।
यस कदमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा आलोचना गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले यो निर्णयलाई “अत्यन्त मूर्खतापूर्ण कदम” भनेका छन्। यसअघि ट्रम्पले यो सम्झौताको समर्थन गरेको देखिए तापनि अहिले उनले यो निर्णय घातक हुनसक्ने भन्दै विरोध जनाएका हुन्।
बेलायती सरकारले “राष्ट्रिय सुरक्षामा कहिल्यै सम्झौता नगर्ने” बताएको छ। प्रधानमन्त्रीका आधिकारिक प्रवक्ताले अमेरिका अझै पनि यस सम्झौताको समर्थनमै रहेको दाबी गरे।
बेलायतले मे महिनामा करिब ४.६ अर्ब अमेरिकी डलरको सम्झौता गरेको थियो, जसअनुसार चागोस टापुहरू मोरिससलाई सुम्पिने तय भएको छ। तर, सबैभन्दा ठूलो टापु डिएगो गार्सियामा रहेको बेलायत–अमेरिका संयुक्त सैन्य अड्डा भने बेलायतकै नियन्त्रणमा रहनेछ।
ट्रम्पले बेलायतले कुनै ठोस कारण बिना नै रणनीतिक रूपमा महत्त्वपूर्ण डिएगो गार्सिया टापु मोरिससलाई दिन लागेको बताए। चीन र रुसले यो कमजोरीको फाइदा उठाउन सक्ने उनको तर्क छ। उनले थपे, “यति महत्त्वपूर्ण भूमि सुम्पिनु ठूलो मूर्खता हो। यही कारणले गर्दा ग्रिनल्याण्ड किन लिनुपर्छ भन्ने राष्ट्रिय सुरक्षाका धेरै कारणमध्ये यो अर्को उदाहरण हो।”
यसको जवाफमा बेलायती प्रधानमन्त्रीका प्रवक्ताले ट्रम्पले गत वर्ष नै यस सम्झौताको सकारात्मक पक्ष स्वीकार गरेको स्मरण गराए। बेलायती सरकारका अनुसार अदालतका पुराना फैसलाहरूले डिएगो गार्सिया सैन्य अड्डाको भविष्य जोखिममा पारेकाले यो सम्झौता अनिवार्य भएको हो। यसले सैन्य अड्डाको सञ्चालनलाई “पुस्तौँसम्म सुरक्षित” गर्ने सरकारको विश्वास छ।
चागोस टापुलाई लिएर बेलायत र मोरिससबीच लामो समयदेखि विवाद चल्दै आएको छ। सन् १९६५ मा मोरिसस बेलायती उपनिवेश हुँदा चागोस टापुहरूलाई अलग गरिएको थियो। मोरिससले आफूलाई स्वतन्त्रता दिने सर्तमा दबाब दिएर यी टापुहरू छुट्याइएको दाबी गर्दै आएको छ।
बेलायतले चागोस टापुहरूको सार्वभौमिकता मोरिससलाई दिनेछ। डिएगो गार्सियालाई ९९ वर्षका लागि भाडामा लिइनेछ। यसको औसत वार्षिक लागत करिब १०१ मिलियन पाउण्ड हुनेछ।
सम्झौताअघि बेलायतले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै ट्रम्पलाई ‘भिटो’ अधिकारको समेत प्रस्ताव गरेको थियो। सम्झौता भएपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसलाई स्वागत गर्दै डिएगो गार्सियालाई विश्वव्यापी सुरक्षाका लागि “अत्यन्तै महत्त्वपूर्ण सम्पत्ति” भनेका थिए। यद्यपि, बेलायतभित्रै विपक्षी दलहरूले भने यसको कडा आलोचना गरिरहेका छन्।





