इरानसँग तनाव बढेसँगै अमेरिकाले कतारको एयर बेसबाट आफ्ना कर्मचारीहरू हटाउँदै


प्रकाशित मिति : पुस २९, २०८२ बुधबार

अपरेशन इराकी फ्रीडमको क्रममा अमेरिकी वायुसेनाबाट लिइएको अल उदेइद एयर बेसमा रहेको “अप्स टाउन” को दृश्य।

इरानसँगको तनाव बढ्दै गएपछि अमेरिकी सेनाले सावधानी अपनाउँदै कतारस्थित ‘अल उदेद’ एयर बेसबाट केही गैर-अत्यावश्यक कर्मचारीहरूलाई अन्यत्र सार्न थालेको छ। इरानमा जारी प्रदर्शनहरूलाई लिएर राष्ट्रपति ट्रम्पले सैन्य कारबाही गर्नेबारे विचार गरिरहेका बेला यो कदम चालिएको हो।

पेन्टागनले दुई देशबीचको बढ्दो द्वन्द्व र इरान सरकारले प्रदर्शनकारीहरूमाथि गरेको दमनका कारण कर्मचारीहरू हटाउन सुरु गरेको सैन्य अधिकारीहरूले बताएका छन्। कतार सरकारले एक विज्ञप्ति जारी गर्दै यो स्थानान्तरण “क्षेत्रीय तनावलाई मध्यनजर गर्दै गरिएको” बताएको छ। यद्यपि, पेन्टागनको सेन्ट्रल कमान्डले यसबारे कुनै टिप्पणी गरेको छैन।

मंगलबार एक सामाजिक सञ्जाल पोस्टमा राष्ट्रपति ट्रम्पले इरानी प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै “मद्दत आउँदै गरेको” बताएका थिए, जसलाई धेरैले सैन्य हस्तक्षेपको संकेतका रूपमा लिएका छन्।

ट्रम्पले सैन्य आक्रमणको आदेश दिएमा हाल केही विकल्पहरू सीमित देखिएका छन्। गत बर्ष पेन्टागनले विमानवाहक जहाज ‘जेराल्ड आर फोर्ड’ लाई भूमध्यसागरबाट क्यारिबियनतर्फ पठाएको थियो। मध्यपूर्वमा हाल तीनवटा मिसाइल प्रहार गर्ने विध्वंसक जहाजहरू तैनाथ छन्। लाल सागरमा ‘रुजवेल्ट’ जहाज पुगिसकेको छ भने एउटा मिसाइल प्रहार गर्ने पनडुब्बी पनि त्यस क्षेत्रमा रहेको अधिकारीहरूले बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पेन्टागनले राष्ट्रपति ट्रम्पलाई धेरै विकल्पहरू प्रस्तुत गरेको छ। यसमा इरानको आणविक कार्यक्रम र ब्यालेस्टिक मिसाइल साइटहरूमा आक्रमण गर्ने योजना समावेश छ। यद्यपि अधिकारीहरूका अनुसार साइबर आक्रमण वा प्रदर्शनकारीमाथि दमन गर्ने इरानको सुरक्षा संयन्त्रमाथि आक्रमण गर्ने सम्भावना बढी छ। कुनै पनि आक्रमण हुन अझै केही दिन लाग्न सक्ने र त्यसको बदलामा इरानले कडा प्रतिक्रिया दिन सक्ने अनुमान गरिएको छ।

गत जुनमा अमेरिकाले इरानी आणविक स्थलहरूमा गरेको आक्रमणपछि, इरानले बदलामा अल उदेद एयर बेसमा मिसाइल प्रहार गरेको थियो। यो बेसमा करिब १०,००० अमेरिकी सैनिकहरू कार्यरत छन्। अमेरिकी गुप्तचर निकायका अनुसार यदि फेरि आक्रमण भएमा इरानले कतार, सिरिया र इराकमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा आक्रमण गर्न सक्छ।

इरानमा जारी प्रदर्शनलाई सन् १९७९ को क्रान्तिपछिको सबैभन्दा ठूलो चुनौती मानिएको छ। प्रदर्शनमा मृत्यु हुनेको संख्या १,००० भन्दा बढी पुगेको अमेरिकी अनुमान छ। इरानी अधिकारीहरूले भने जुनसुकै अमेरिकी हस्तक्षेपको कडा प्रतिकार गर्ने चेतावनी दिँदै आएका छन्।

अमेरिकी सेनाले सेप्टेम्बर ११ को आतंकवादी हमला पछिका दिनदेखि नै ‘अल उदेद’ एयर बेसको प्रयोग गर्दै आएको छ। सुरुवाती चरणमा अफगानिस्तानमा रहेका तालिबान र अल-कायदालाई लक्षित गर्न यहाँबाट लडाकु विमानहरू उडाइएको थियो। त्यसको दुई वर्षपछि यो बेस मध्यपूर्व क्षेत्रमा अमेरिकी हवाई परिचालनको हब बन्यो र हाल यो विभिन्न अत्याधुनिक वायु रक्षा प्रणालीहरूले सुसज्जित छ।

अमेरिकी कमान्डरहरूले इराक र अफगानिस्तानको युद्धका साथै सिरियामा इस्लामिक स्टेट विरुद्धका हवाई हमलाहरू समन्वय गर्न यही बेसको प्रयोग गरेका थिए। अमेरिकी वायुसेनाले यहाँ उन्नत लडाकु विमानहरू र लामो दूरीका बमवर्षकदेखि लिएर अत्याधुनिक ड्रोन, मालवाहक विमान र आकाशमै इन्धन भर्ने ट्याङ्करहरू समेत तैनाथ गरेको छ। यो बेस अमेरिकी सेन्ट्रल कमान्डको क्षेत्रीय मुख्यालय पनि हो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com