अमेरिकाले आक्रमण गरे प्रतिरोध गर्ने इरानको चेतावनी
प्रकाशित मिति : पुस २८, २०८२ मंगलबार
फोटो : एपी/रासस
इरानमा भइरहेको सरकार विरोधी प्रदर्शनलाई अमेरिकाले सहयोग गर्ने तयारी गरेको छ। पछिल्लो विरोध प्रदर्शनका क्रममा भएको दमनमा कम्तीमा २ हजार जनाको मृत्यु भएको तथ्य बाहिर आएपछि अमेरिकाले सहयोगको तयारी गरेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनताका लागि सहयोग “आउँदैछ” भन्दै प्रतिबद्धता जनाएका छन्। अमेरिकास्थित ‘ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सी’ का अनुसार इरानमा इन्टरनेट पूर्णरूपमा बन्द गरिएको छ।
पछिल्ला १७ दिनमा कम्तीमा १,८५० प्रदर्शनकारी, सरकारसँग आबद्ध १३५ जना, कुनै समूहमा संलग्न नभएका ९ सर्वसाधारण र ९ बालबालिका मारिएका छन्। एक इरानी अधिकारीले करिब २,००० जनाको मृत्यु भएको स्वीकार गरे तापनि उनले यसको दोष प्रदर्शनकारीहरूमाथि नै थोपरेका छन्।
राष्ट्रपति ट्रम्प इरानसम्बन्धी बैठकमा सहभागी हुँदैछन्। उनले “वास्तविक मृतक संख्या” पत्ता लगाउने प्रतिबद्धता जनाएका छन्। ह्वाइट हाउस फर्किने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “हत्या निकै ठूलो स्तरमा भएको देखिन्छ, तर अहिले नै पूर्ण रूपमा निश्चित भन्न सकिने अवस्था छैन।” उनले थपे, “यथार्थ संख्या थाहा पाएपछि हामी सोहीअनुसारको कदम चाल्नेछौँ।”
यसअघि ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत इरानी अधिकारीहरूले “ठूलो मूल्य चुकाउनु पर्ने” चेतावनी दिँदै जनतालाई “प्रदर्शन जारी राख्न” आग्रह गरेका थिए।
इरानी दमनको प्रतिक्रिया स्वरूप ट्रम्पले सैन्य तथा अन्य विकल्पहरूबारे विचार गरिरहेका छन्। यसअघि उनले इरानसँग व्यापार गर्ने कुनै पनि देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरिसकेका छन्।
इरानी मुद्राको अवमूल्यन र बढ्दो महँगीको विरोधमा सुरु भएको यो प्रदर्शन पछि राजनीतिक परिवर्तनको मागमा रूपान्तरण भएको हो। यसलाई सन् १९७९ को इस्लामिक क्रान्तिपछिको सबैभन्दा ठूलो चुनौतीका रूपमा हेरिएको छ।
अमेरिकी रक्षा अधिकारीहरूका अनुसार ट्रम्पलाई दूरगामी क्षेप्यास्त्र हमला, साइबर अपरेशन र मनोवैज्ञानिक अभियान लगायतका विकल्पहरूबारे जानकारी गराइएको छ। यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले इरान कूटनीतिका लागि खुला रहे पनि अमेरिकाले सैन्य विकल्प प्रयोग गरे त्यसको कडा जवाफ दिन तयार रहेको चेतावनी दिएका छन्।





