न्युयोर्कका अस्पतालका १५ हजार नर्सहरू हडतालमा; बिरामी सुरक्षा र स्वास्थ्य सुविधाको मुद्दा चर्कियो


प्रकाशित मिति : पुस २७, २०८२ सोमबार

जनवरी १२, २०२६ मा न्यूयोर्कको माउन्ट साइनाई अस्पताल बाहिर हडताल गर्दा नाराबाजी गर्दै नर्सहरू । (तस्बिर: टिमोथी ए. क्लेरी / एएफपी, राससमार्फत)

न्युयोर्क शहरका प्रतिष्ठित अस्पतालहरूको व्यवस्थापन पक्षले नर्सहरूका मागलाई बेवास्ता गरेपछि करिब १५,००० नर्सहरू हडतालमा उत्रिएका छन्। न्युयोर्क राज्य नर्स एसोसिएसनको नेतृत्वमा सोमबार बिहान ६ बजेदेखि सुरु भएको यो आन्दोलन शहरको इतिहासकै सबैभन्दा ठूलो नर्स हडताल भएको बताइएको छ।

न्यूयोर्कको माउन्ट साइनाई वेस्ट अस्पताल बाहिर नर्सहरू। (राससमार्फत एपी फोटो/युकी इवामुरा)

लामो समयदेखि जारी वार्ता असफल भएपछि नर्सहरू हडतालमा उत्रिएका हुन्। अस्पताल व्यवस्थापनले नर्सहरूका मुद्दालाई सम्बोधन गर्न नमानेपछि यो स्थिति सिर्जना भएको हो।

न्युयोर्क-प्रेस्बिटेरियन अस्पताल बाहिर नर्सहरूको हडताल । (राससमार्फत एपी फोटो/युकी इवामुरा)

न्युयोर्क स्टेट नर्स एसोसिएसनले जानकारी दिए अनुसार, शहरका ठूला अस्पतालहरूले अग्रपंक्तिमा खटिने नर्सहरूको स्वास्थ्य बीमा र सुविधाहरूमा भारी कटौती गर्ने धम्की दिएका छन्। यसले हडतालमा रहेका १५,००० मात्र नभई राज्यभरका करिब २७,००० नर्सहरूलाई असर गर्ने देखिएको छ। बिरामीको उचित हेरचाहका लागि आवश्यक नर्सहरूको संख्या सुनिश्चित गर्न व्यवस्थापन तयार नभएको आरोप एसोसिएसनले लगाएको छ।

माउन्ट साइनाई र न्युयोर्क-प्रेस्बिटेरियन जस्ता अस्पतालहरूमा हालैका दिनमा भएका हिंसात्मक घटनापछि नर्सहरूले कार्यस्थलमा कडा सुरक्षाको माग समेत गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।


न्यूयोर्क-प्रेस्बिटेरियन अस्पताल बाहिर नर्सहरूको हडतालको समयमा न्यूयोर्कका मेयर जोहरान ममदानी । ( राससमार्फत एपी फोटो/युकी इवामुरा)

एसोसिएसनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, एकतर्फ अस्पतालहरूले नर्सहरूलाई सुविधा दिन बजेट छैन भनिरहेका छन् भने अर्कोतर्फ उनीहरूका कार्यकारी प्रमुखहरूको तलब सन् २०२० देखि २०२३ को बीचमा ५४ प्रतिशतले वृद्धि भएको छ।

न्यूयोर्कको माउन्ट साइनाई वेस्ट अस्पताल बाहिर नर्सहरू। ( राससमार्फत एपी फोटो/युकी इवामुरा)

न्युयोर्ककी महान्यायाधिवक्ता लेटिसिया जेम्सले नर्सहरूको समर्थन गर्दै अस्पतालहरूलाई नाफाभन्दा माथि बिरामी र स्वास्थ्यकर्मीको सुरक्षा राख्न आग्रह गरेकी छिन्। उनले भनिन्, “जब राज्य फ्लुको महामारीसँग जुधिरहेको छ, यस्तो अवस्थामा अस्पतालहरूले आफ्ना नर्सहरूलाई अपमानित गर्नु दुःखद छ।”

न्युयोर्क-प्रेस्बिटेरियन अस्पताल बाहिर नर्सहरू । (राससमार्फत एपी फोटो/युकी इवामुरा)

त्यस्तै, क्वीन्सका बरो प्रेसिडेन्ट डोनोभन रिचर्ड्स र म्यानहट्टनका बरो प्रेसिडेन्ट ब्राड होयलमेन-सिगलले पनि कोभिड महामारीका बेला शहर बचाउने नर्सहरूलाई अहिले व्यवस्थापनले धोका दिएको भन्दै कडा आलोचना गरेका छन्।

अस्पताल प्रशासनले नर्सहरूलाई वार्तामा बोलाउनुको साटो उनीहरूलाई तर्साउन र दमन गर्न खोजेको युनियनको दाबी छ। माउन्ट सिनाई अस्पतालले कार्यस्थल सुरक्षाबारे बोल्ने नर्सहरूलाई अनुशासनको कारबाही गरेको र मोन्टेफियोरले नर्सहरूको निगरानी गरेर उनीहरूलाई तर्साउन खोजेको आरोप लगाइएको छ।

न्युयोर्क-प्रेस्बिटेरियन अस्पताल बाहिर नर्सहरूको हडताल । (राससमार्फत एपी फोटो/युकी इवामुरा)

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com