अमेरिकाको मिनियापोलिसमा ‘आइस’ विरुद्धको प्रदर्शन चर्कियो: प्रहरी घाइते, दर्जनौँ पक्राउ
प्रकाशित मिति : पुस २५, २०८२ शनिबार
फोटो : एपी/रासस
अमेरिकाको मिनियापोलिसमा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। झडपमा एक प्रहरी अधिकारी घाइते भएका छन् भने दर्जनौँ प्रदर्शनकारी पक्राउ परेका छन्।
अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आइस) का एजेन्टले गोली हानी तीन सन्तानकी आमाको हत्या गरेपछि मिनियापोलिसमा प्रदर्शन सुरु भएको हो। सो क्रममा प्रहरीले कम्तीमा २९ जनालाई नियन्त्रणमा लिएको छ। सहरका अधिकारीहरूका अनुसार प्रदर्शनकारीले प्रहार गरेको “बरफको ठूलो टुक्रा” लागेर एक प्रहरी अधिकारी घाइते भएका हुन्।
३७ वर्षीया रेनी निकोल गुडको बुधबार आफ्नै कारभित्र ‘आइस’ एजेन्टको गोली प्रहारबाट मृत्यु भएको थियो। उक्त घटनापछि अमेरिकाभर आप्रवासन कार्यान्वयनका विरुद्ध प्रदर्शनहरू भइरहेका छन्।
ट्रम्प प्रशासनले गोली चलाउने एजेन्टले आत्मरक्षाका लागि सो कदम चालेको दाबी गरेको छ। तर, स्थानीय अधिकारीहरूले भने गुडबाट कुनै खतरा नरहेको जिकिर गरेका छन्।
प्रदर्शनकारीहरू मिनियापोलिसको ‘क्यानोपी होटल’ बाहिर भेला भएपछि प्रहरीले त्यसलाई “अवैध भेला” घोषणा गरेको थियो।
उक्त होटलमा ‘आइस’ का केही एजेन्टहरू बसेको विश्वासमा प्रदर्शनकारी त्यहाँ पुगेका थिए। मिनियापोलिस प्रहरी विभागले जारी गरेको विज्ञप्तिअनुसार केही व्यक्तिहरूले गल्लीबाट होटलभित्र जबर्जस्ती प्रवेश गर्ने प्रयास गरेका थिए।
मिनियापोलिसका मेयर जेकब फ्रेले अधिकांश प्रदर्शनकारी शान्तिपूर्ण रहेको भन्दै प्रशंसा गरे पनि सम्पत्तिमा क्षति पुर्याउने वा अरूको ज्यान जोखिममा पार्नेहरूलाई पक्राउ गरिने चेतावनी दिएका छन्।
यसैबीच, मिनेसोटाका तीन जना कंग्रेस सदस्यहरूले मिनियापोलिसस्थित एक ‘आइस’ केन्द्रको निरीक्षण गर्न खोजेका थिए।
डेमोक्र्याट कंग्रेस सदस्यहरू इल्हान ओमार, केली मोरिसन र एन्जी क्रेगले ‘आइस’ र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आफूहरूलाई निरीक्षणमा अवरोध पुर्याएको आरोप लगाएका छन्। उनीहरूलाई सुरुमा प्रवेश दिइए पनि पछि बाहिर निकालिएको थियो।
रेनी निकोल गुडमाथि गोली चलाउने अधिकारी जोनाथन रस हुन्, जो ‘आइस’ का अनुभवी एजेन्ट मानिन्छन्। उनी यसअघि ड्युटीकै क्रममा कारको ठक्करबाट घाइते भएका थिए। हाल यस घटनाको अनुसन्धान एफबीआई ले गरिरहेको छ।





