भेनेजुएलामा कम्तीमा १०० बिलियन डलर लगानी गर्न अमेरिकी तेल कम्पनीहरूलाई ट्रम्पको आग्रह
प्रकाशित मिति : पुस २४, २०८२ शुक्रबार
फोटो : एपी/रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी तेल कम्पनीहरूलाई भेनेजुएलाको तेल उद्योगमा कम्तीमा १०० बिलियन (१ खर्ब) डलर लगानी गर्न आग्रह गरेका छन्।
तर, ह्वाइट हाउसमा भएको बैठकमा तेल कम्पनीका प्रमुखहरूले भने सकारात्मक प्रतिक्रिया नदिएको बताइएको छ। एक कार्यकारीले त भेनेजुएलालाई हाल “लगानी गर्न नसकिने देश” भन्दै टिप्पणी गरेका छन्।
बैठकमा सहभागी अमेरिकाका ठूला तेल कम्पनीका प्रमुखहरूले भेनेजुएला विशाल ऊर्जा भण्डार भएको आकर्षक अवसर भएको कुरालाई स्वीकार गरे। तर, उनीहरूले देशलाई लगानीयोग्य बनाउन ठूला र संरचनात्मक परिवर्तन आवश्यक पर्ने बताएका छन्। हालका लागि कुनै पनि कम्पनीले ठूलो वित्तीय प्रतिबद्धता जनाएका छैनन्।
ट्रम्पले जनवरी ३ मा अमेरिकी सेनाले भेनेजुएलाको राजधानीमा गरेको कारबाहीपछि राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएको दाबी गर्दै अब भेनेजुएलाको तेल उत्पादनको बाटो “खोलिने” बताएका छन्। “यसबाट अमेरिकाले अझ सस्तो मूल्यमा ऊर्जा पाउनेछ,” ट्रम्पले ह्वाइट हाउसमा भने।
तर तेल उद्योगका प्रमुखहरूले उनको भनाइप्रति सतर्कता देखाएका छन्। एक्सन मोबिलका प्रमुख कार्यकारी डारेन वुड्सले भने, “हाम्रा सम्पत्ति त्यहाँ दुई पटक जफत भइसकेका छन्। तेस्रो पटक फर्कनका लागि ऐतिहासिक अनुभव र हालको अवस्थालाई हेर्दा निकै ठूला परिवर्तनहरू आवश्यक पर्छन्। आजको अवस्थामा भेनेजुएला लगानीयोग्य छैन।”
भेनेजुएलामा तेल पत्ता लागेको १०० वर्षभन्दा बढी भइसकेको छ, तर अन्तर्राष्ट्रिय तेल कम्पनीहरूसँगको यसको सम्बन्ध सधैँ जटिल रहँदै आएको छ। हाल ‘चेभ्रोन’ मात्र भेनेजुएलामा सञ्चालित अन्तिम प्रमुख अमेरिकी तेल कम्पनी हो। स्पेनको ‘रेप्सोल’ र इटालीको ‘एनी’ जस्ता केही विदेशी कम्पनीहरू पनि त्यहाँ सक्रिय छन्, जो ह्वाइट हाउसको बैठकमा सहभागी थिए।
ट्रम्पले कुन कम्पनीलाई भेनेजुएलामा काम गर्न दिने भन्ने निर्णय आफ्नो प्रशासनले गर्ने बताए। उनले भने, “तपाईंहरू सिधै हामीसँग कुरा गर्नुहुन्छ, भेनेजुएलासँग होइन।”
अधिकारीहरूका अनुसार हाल भेनेजुएलाको नेतृत्व मदुरोकी पूर्व उपराष्ट्रपति डेल्सी रोड्रिगेजले गरिरहेकी छन्। अमेरिकाले उनीसँग समन्वय भइरहेको बताए पनि तेल बिक्रीमा नियन्त्रण राखेर सरकारमाथि दबाब कायम राख्ने स्पष्ट पारेको छ।
दशकौँदेखिको कमजोर लगानी, कुशासन र अमेरिकी प्रतिबन्धका कारण भेनेजुएलाको तेल उत्पादन निकै घटेको छ। हाल त्यहाँ प्रतिदिन करिब १० लाख ब्यारेल तेल उत्पादन हुन्छ, जुन विश्व आपूर्तिको १ प्रतिशतभन्दा पनि कम हो।





