नेपाली दूतावास डीसीमा तीनजनाद्वारा नेपाली नागरिकता परित्याग, यस्तो छ संवैधानिक र कानुनी व्यवस्था
प्रकाशित मिति : पुस २६, २०८२ आईतबार
अमेरिकास्थित नेपाली राजदुतावास वासिङ्टन डिसीमा सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा दुई पुरुष र एक महिलासमेत तीन जनाले नेपाली नागरिकता परित्यागका लागि निवेदन दिएका छन्।
दुतावासको विवरण अनुसार अर्को मुलुकको नागरिकता ग्रहण गर्ने प्रक्रियासँगै ती नागरिकहरूले कानुनी रूपमा नेपाली पहिचान व्यवस्थापन गर्न नागरिकता त्याग्ने निर्णय गरेका हुन् । कन्सुलेट जनरल अफ नेपाल न्युयोर्कबाट भने यस अवधिमा कसैले पनि नेपाली नागरिकता परित्यागका लागि निवेदन दिएका छैनन् ।
नेपालको संविधानले एकल संघीय नागरिकताको व्यवस्था गरेको छ। जस अनुसार कुनै पनि नेपाली नागरिकले एकै समयमा दुई देशको नागरिकता राख्न पाउँदैनन्। नेपाल नागरिकता ऐन, २०६३ को दफा १० (१) मा कुनै पनि नेपाली नागरिकले आफूखुसी विदेशी नागरिकता प्राप्त गरेमा निजको नेपाली नागरिकता कायम नरहने व्यवस्था छ । यस्तै, सोही दफाको उपदफा (२) मा नेपाली नागरिकले नागरिकता त्याग्न सूचना दिन सक्ने व्यवस्था गरिएको छ ।
नागरिकता नियमावली, २०६३ को नियम ९ मा नागरिकता परित्यागको स्पष्ट कार्यविधि तोकिएको छ। जस अनुसार कुनै नेपाली नागरिकले नेपालको नागरिकता परित्याग गर्न चाहेमा निज नेपालमा भए सम्बन्धित प्रमुख जिल्ला अधिकारी र विदेशमा भए सम्बन्धित नेपाली नियोग (राजदूतावास) मार्फत अनुसूची-९ बमोजिमको ढाँचामा गृह मन्त्रालयलाई सम्बोधन गरी सूचना दिनुपर्नेछ। यस्तो सूचना प्राप्त भएपछि सम्बन्धित नियोग वा अधिकारीले सो सूचना दर्ता गरी त्यसको जानकारी निवेदकलाई दिई उक्त विवरण मन्त्रालयमा पठाइदिनु पर्नेछ।
दूतावासले उक्त निवेदन प्राप्त गरी गृह मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा जानकारी पठाएपछि निवेदकको नाम नागरिकताको दर्ता किताबबाट हटाइने व्यवस्था बमोजिम हालसम्म विदेशस्थित दुतावास वा कन्सुलर कार्यालयले कार्यसम्पादन गरिरहेका छन् ।
नागरिकता परित्याग गरेपछि व्यक्तिले नेपालमा मतदान गर्ने, निर्वाचनमा उम्मेदवार हुने वा राजनीतिक दल खोल्ने जस्ता राजनीतिक अधिकार गुमाउँछन्। यद्यपि, नेपाल नागरिकता ऐन, २०६३ को दफा १६ अनुसार नागरिकता समाप्त हुनुअघि नागरिक रहेको बखत निजले गरेको कुनै कार्यको सम्बन्धमा रहेको अधिकार, कर्तव्य र दायित्व भने लोप हुने छैन ।
नेपाली नागरिकता त्यागेका व्यक्तिका लागि संविधानको धारा १४ ले गैरआवासीय नेपाली नागरिकताको विकल्प दिएको छ। सार्क सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गर्ने र साविकमा वंशज वा जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिहरूले यो नागरिकता लिन सक्छन्। यसले उनीहरूलाई नेपालमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न दिने भए तापनि राजनीतिक अधिकार भने गैरआवासीय नागरिकता प्राप्तकर्तालाई नहुने व्यवस्था छ ।
यस्तै, भविष्यमा विदेशी नागरिकता त्यागेर पुनः नेपाली नागरिक बन्न चाहेमा नागरिकता ऐनको दफा ११ अनुसार प्रक्रिया पुर्याई नागरिकता ब्युँताउन सकिने व्यवस्था छ। यसका लागि विदेशी नागरिकता त्यागेको निस्सा वा प्रमाणसहित तोकिएको अधिकारीसमक्ष निवेदन दिनुपर्ने कानुनी व्यवस्था गरिएको छ ।





