यूएससीआईएसद्वारा प्रिमियम प्रोसेसिङ शुल्कमा वृद्धि: मार्च १ देखि नयाँ दर लागू हुने
प्रकाशित मिति : पुस २४, २०८२ शुक्रबार
अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) ले विभिन्न श्रेणीका आप्रवासन आवेदनहरूको प्रिमियम प्रोसेसिङ शुल्कमा वृद्धि गर्ने घोषणा गरेको छ। आगामी मार्च १, २०२६ बाट लागू हुने गरी वर्क परमिट, स्टाटस परिवर्तन र रोजगारीमा आधारित याचिकाहरूको शुल्क बढाइएको हो।

होमल्याण्ड सेक्युरिटीले सोमबार फेडरल रजिष्ट्ररमा प्रकाशित गर्ने तय गरेको अन्तिम नियमअनुसार सन् २०२३ को जुनदेखि २०२५ को जुनसम्मको मुद्रास्फीतिलाई आधार मानी यो शुल्क समायोजन गरिएको हो। यूएससीआईएस स्थिरीकरण ऐनले विभागलाई प्रत्येक दुई वर्षमा शुल्क पुनरावलोकन गर्ने अधिकार दिएको छ।
नयाँ शुल्क संरचनाअनुसार मुख्य फर्महरूको दर निम्न बमोजिम रहनेछ:
| फारम र श्रेणी | पुरानो शुल्क | नयाँ शुल्क (मार्च १ बाट) |
| फर्म I-129 (H-1B, L-1, O-1 आदि) | $२,८०५ | $२,९६५ |
| फर्म I-140 (रोजगारीमा आधारित ग्रीनकार्ड) | $२,८०५ | $२,९६५ |
| फर्म I-539 (F, J, M भिसा स्थिति परिवर्तन) | $१,९६५ | $२,०७५ |
| फर्म I-765 (OPT र STEM OPT कार्य अनुमति) | $१,६८५ | $१,७८० |
यूएससीआईएसका अनुसार शुल्क वृद्धिबाट संकलन हुने थप राजस्वलाई सेवाको गुणस्तर सुधार गर्न, प्रविधिमा लगानी गर्न र लामो समयदेखि थाँती रहेका मुद्दाहरूको छिटो फछ्र्यौट गर्न प्रयोग गरिनेछ।
मार्च १, २०२६ वा त्यसपछि पोस्टमार्क गरिएका सबै प्रिमियम प्रोसेसिङ अनुरोधहरूमा नयाँ शुल्क अनिवार्य गरिएको छ। यदि गलत वा पुरानो शुल्क पठाइएमा यूएससीआईएसले उक्त फर्म अस्वीकार गरी आवेदन फिर्ता पठाउनेछ।
आवेदकहरूले अनलाइन वा कागजी माध्यमबाट आवेदन दिँदा यूएससीआईएसको आधिकारिक वेबसाइटमा उल्लेखित पछिल्लो निर्देशन पालना गर्न सुझाव दिइएको छ।





