संघीय बालसहायता कोष रोक्काविरुद्ध ५ अमेरिकी राज्यद्वारा ट्रम्प प्रशासनमाथि मुद्दा


प्रकाशित मिति : पुस २४, २०८२ शुक्रबार

अमेरिकी राष्ट्रपति ट्रम्प । फोटो : एएफपी/रासस

अमेरिकाका डेमोक्रेट नेतृत्वमा रहेका पाँच राज्यले संघीय बालसहायता तथा पारिवारिक सहयोगसम्बन्धी १० बिलियन डलरको कोष रोक्का गर्ने निर्णयविरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमाथि मुद्दा दायर गरेका छन् । क्यालिफोर्निया, कोलोराडो, इलिनोइस, मिनेसोटा र न्युयोर्क राज्यले अमेरिकी डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसले आफ्ना राज्यहरूलाई १० बिलियन डलरभन्दा बढी संघीय सहयोगमा पहुँच रोकिदिएको भन्दै न्यूयोर्कको म्यानहट्टनस्थित संघीय अदालतमा बिहीबार मुद्दा दायर गरेका हुन्।

डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसले ती राज्यका कल्याणकारी कार्यक्रमहरूमा व्यापक ठगी र करदाताको रकम दुरुपयोग भएको आशंका जनाउँदै थप समीक्षा नभएसम्मका लागि कोष रोक्का गरेको जनाएको छ। डिपार्टमेन्टले अमेरिकी नागरिक वा कानुनी स्थायी बासिन्दा नभएका व्यक्तिले पनि अवैध रूपमा लाभ लिएको सम्भावनाबारे चिन्ता व्यक्त गरेको छ।

रोक्का गरिएका कोषमध्ये ७ दशमलव ३ बिलियन डलर ‘टेम्पोररी असिस्टेन्स फर निडी फ्यामिलिज’ कार्यक्रमअन्तर्गत पर्छ, जसले न्यून आय भएका बालबालिकासहितका परिवारलाई नगद सहायता प्रदान गर्छ। यस्तै, करिब २ दशमलव ४ बिलियन डलर ‘चाइल्ड केयर एन्ड डेभलपमेन्ट फन्ड’ बाट बालहेरचाह खर्च सहज बनाउन प्रयोग हुने गर्दछ। साथै, ८६९ मिलियन डलर बराबरको सामाजिक सेवा अनुदान पनि रोकिएको छ।

यसअघि मिनेसोटामा सामाजिक सेवा कार्यक्रममा ठगी भएको आरोपपछि त्यहाँका लागि वार्षिक १८५ मिलियन डलरको बालहेरचाह कोषसमेत रोक्का गरिएको थियो। सोही प्रकरणसँग जोडिँदै मिनेसोटाका गभर्नर टिम वाल्जले तेस्रो कार्यकालका लागि उम्मेदवारी नदिने घोषणा गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रभावित राज्यका डेमोक्रेट नेताहरूले संघीय सरकारको कदमको तीव्र आलोचना गरेका छन्। न्युयोर्ककी गभर्नर क्याथी होचुलले निर्णयलाई “प्रतिशोधपूर्ण” भनेकी छन् भने इलिनोइसका गभर्नर जेबी प्रिट्जकरले यसलाई “गलत र अमानवीय” भनेका छन्।

न्युयोर्ककी महान्यायाधिवक्ता लेटिसिया जेम्सले संघीय सरकारसँग कोष रोक्ने कुनै वैध आधार नभएको, ठगीको आरोप पुष्टि गर्ने प्रमाण नपेश गरिएको र अमेरिकी संविधानले कंग्रेसलाई दिएको खर्चसम्बन्धी अधिकारमाथि हस्तक्षेप गरिएको दाबी गरेकी छन्। यस विषयमा ह्वाइट हाउसले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com