अमेरिकामा शार्कको आक्रमणबाट महिला खेलाडीको मृत्यु


प्रकाशित मिति : पुस १४, २०८२ मंगलबार

a view of a beach with waves crashing on the rocks

फोटो : डिटोर्ड स्टुडियो / ओपनभर्स

अमेरिकाको क्यालिफोर्नियास्थित एक समुद्री किनारमा शार्कको आक्रमणबाट एक महिला खेलाडीको मृत्यु भएको छ। ५५ वर्षीया ट्रायथलिट खेलाडी एरिका फक्सको शव सान्ता क्रुजको उत्तर–पश्चिमतर्फको समुद्री किनारमा फेला परेको अधिकारीहरूले बताएका छन्।

ट्रायथलन एकै व्यक्तिले लगातार तीनवटा फरक-फरक विधाका खेलहरू पूरा गर्नुपर्ने खेल हो । यसलाई संसारकै कठिन र धैर्यता चाहिने खेलहरूमध्ये एक मानिन्छ।

अधिकारीहरूका अनुसार फक्सलाई शार्कले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ। करिब एक हप्तासम्मको व्यापक खोजीपछि उनको शव फेला परेको हो। क्यालिफोर्नियामा शार्कको आक्रमणबाट हुने यस्ता घातक घटनाहरू अत्यन्तै दुर्लभ मानिन्छन्।

फक्स डिसेम्बर २१ मा क्यालिफोर्नियाको मोन्टेरी नजिकै रहेको ‘लभर्स पोइन्ट’ बाट समुद्रमा पौडी खेल्न गएकी थिइन्। उनी १२ जनाभन्दा बढीको समूहसँगै पानीमा पसेकी थिइन्, तर अन्य साथीहरू फर्किए पनि उनी भने फर्किन सकिनन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘सान फ्रान्सिस्को क्रोनिकल’ का अनुसार घटनाको दिन त्यहाँबाट गाडी चलाउँदै गएका एक प्रत्यक्षदर्शीले समुद्रमा शार्क देखिएको र उसको मुखमा मानव शरीर जस्तो देखिने वस्तु रहेको भन्दै अधिकारीहरूलाई खबर गरेका थिए। उक्त सूचनापछि अमेरिकी कोस्ट गार्ड, स्थानीय दमकल र प्रहरी विभागको सहयोगमा १५ घण्टासम्म सघन खोज तथा उद्धार अभियान चलाइएको थियो।

एरिका फक्स एक अनुभवी खेलाडी थिइन्। उनले चर्चित “एस्केप फ्रम अल्काट्राज” सहित थुप्रै ट्रायथलन प्रतियोगिताहरूमा सहभागिता जनाइसकेकी थिइन्।

क्यालिफोर्नियाको तटमा विभिन्न प्रजातिका शार्क पाइए पनि मानिसमाथि हुने घातक आक्रमण अत्यन्तै न्यून छन्। फक्सको मृत्युअघि, पछिल्ला ७५ वर्षमा क्यालिफोर्नियामा शार्कको आक्रमणबाट मृत्यु भएका १६ वटा घटना मात्र दर्ता भएका छन्।

विज्ञहरूका अनुसार शार्कले प्रायः मानिसलाई आफ्नो प्राकृतिक आहार ठान्दैन। पानीमा मानिसको आकृति शार्कको मुख्य शिकार (जस्तै: सिल माछा) सँग मिल्दोजुल्दो देखिँदा शार्कले ‘भ्रमवश’ आक्रमण गर्ने गर्दछ। तथ्याङ्कका अनुसार दैनिक जीवनमा हुने सवारी दुर्घटना वा अन्य सामान्य दुर्घटनाको तुलनामा शार्क आक्रमणबाट ज्यान जाने जोखिम निकै कम छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com