बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन
प्रकाशित मिति : पुस १३, २०८२ सोमबार
बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री बेगम खालिदा जियाको निधन भएको छ। लामो समयदेखि स्वास्थ्य समस्या झेल्दै आएकी ८० वर्षीया जियाको बिहान निधन भएको बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले पुष्टि गरेको छ।
उनको ढाकास्थित एभरकेयर अस्पतालमा उपचार भइरहेको थियो। चिकित्सकहरूका अनुसार उनी लिभर सिरोसिस, बाथ (गठिया), मधुमेहका साथै छाती र मुटुको समस्याबाट लामो समयदेखि ग्रस्त थिइन्।
खालिदा जिया सन् १९९१ मा पहिलोपटक बंगलादेशको प्रधानमन्त्री बनेकी थिइन्। त्यसपछि सन् २००१ मा उनी पुनः सोही पदमा निर्वाचित भइन्। बंगलादेश नेशनलिस्ट पार्टीको अध्यक्षका रूपमा लामो समयसम्म बंगलादेशको राजनीतिमा उनको महत्त्वपूर्ण भूमिका रह्यो। उनको निधनलाई बंगलादेशको राजनीतिमा एउटा युगको अन्त्यका रूपमा हेरिएको छ।
खालिदा जियाका पति जियाउर रहमान बंगलादेशको स्वतन्त्रता सङ्ग्रामका प्रमुख पात्रमध्ये एक थिए, जो सन् १९७७ मा राष्ट्रपति बनेका थिए। त्यस समयसम्म खालिदा जिया राजनीतिबाट टाढा रहेर दुई छोराको हेरचाहमा समर्पित एक “लजालु गृहिणी” का रूपमा परिचित थिइन्।
तर, सन् १९८१ मा पति जियाउर रहमानको हत्या भएपछि उनी राजनीतिमा सक्रिय भइन्। उनले आफ्ना पतिद्वारा स्थापित बंगलादेश नेशनलिस्ट पार्टीको नेतृत्व सम्हालिन्। कडा र प्रतिस्पर्धी बंगलादेशी राजनीतिमा उनको करियर विवादरहित भने रहन सकेन। उनीमाथि भ्रष्टाचारका आरोपहरू लागे र लामो समय जेल जीवन समेत बिताउनुपर्यो।
खालिदा जियाको जन्म सन् १९४५ मा भारतको पश्चिम बंगालमा भएको थियो। चिया व्यापारीकी छोरी उनी भारत विभाजनपछि परिवारसहित तत्कालीन पूर्वी पाकिस्तान (हालको बंगलादेश) सरेकी थिइन्। १५ वर्षकै उमेरमा उनले तत्कालीन युवा सैन्य अधिकारी जियाउर रहमानसँग विवाह गरिन्।
सन् १९७१ मा जियाउर रहमानले पश्चिम पाकिस्तानी सेना विरुद्ध विद्रोह गर्दै बंगलादेशको स्वतन्त्रताको घोषणा गरेका थिए। सन् १९७७ मा सत्ता सम्हालेपछि उनी राष्ट्रपति बने र मुलुकमा बहुदलीय राजनीति तथा स्वतन्त्र सञ्चारमाध्यमको पुनः सुरुवात गरे।
यद्यपि, उनको शासनकालमा पटक–पटक सैनिक विद्रोह (कू) को प्रयास भयो, जसलाई कडा रूपमा दमन गरिएको थियो। अन्ततः सन् १९८१ मा चटगाउँमा सैनिक अधिकारीहरूको एक समूहद्वारा उनको हत्या भएको थियो।






