गोलान हाइट्समा युद्धविराम उल्लंघनका घटना बढ्दो, शान्ति स्थापनामा नेपाली सेनाको अग्रसरता


प्रकाशित मिति : १४ पुस २०८२, सोमबार

“United Nations” by Ashitakka is licensed under CC BY-NC 2.0.

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गोलान हाइट्स स्थित राष्ट्रसंघीय डिसइन्गेजमेन्ट अब्जर्भर फोर्सको कार्यक्षेत्रमा सुरक्षा स्थिति अस्थिर रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । सुरक्षा परिषदमा पेस गरिएको हालैको प्रतिवेदन अनुसार इजरायल र सिरियाबीचको १९७४ को युद्धविराम सम्झौताको पटक-पटक उल्लंघन भएको उल्लेख छ ।

प्रतिवेदनमा १८ अगस्टदेखि १५ नोभेम्बर २०२५ सम्मको युद्धविराम सम्झौताको उल्लंघन विवरण समेटिएको छ। यस अवधिमा इजरायल रक्षा बलले पृथकीकरण क्षेत्रमा आफ्नो उपस्थिति र गतिविधिहरू बढाएको उल्लेख छ, जुन सुरक्षा परिषद्का प्रस्तावहरूको उल्लंघन भएको संयुक्त राष्ट्रसंघले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

राष्ट्रसंघीय पर्यवेक्षकहरूले इजरायली सेनाले युद्धविराम रेखामा अवरोधहरू निर्माण गरेको, सञ्चार टावरहरू खडा गरेको, र जुब्बाता अल-खाशब क्षेत्रमा डोजर चलाएर रुखहरू हटाएको फेला पारेका छन् । यसका साथै, इजरायली लडाकु विमान र ड्रोनहरूले अल्फा क्षेत्र (इजरायल-अधिनस्थ) बाट युद्धविराम रेखा पार गरी ब्राभो क्षेत्र (सिरिया) तर्फ उडेको घटनाहरूमा पनि वृद्धि भएको भनिएको छ ।

शान्ति सैनिकमाथि अवरोध र दुव्र्यवहार गरिएको,शान्ति सैनिकहरूको सुरक्षा र आवागमनमा समेत अवरोध गरिएको प्रतिवेदनमा उल्लेछ । सो अवधिमा राष्ट्रसंघीय कर्मचारीहरूको आवागमनमा ६ पटक रोक लगाइएको थियो ।

विशेष गरी, गत सेप्टेम्बर ९ मा उत्तरी क्षेत्रमा इजरायली सैनिकहरूले डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स को सवारी साधनलाई आक्रामक रूपमा पछ्याएको र केही सैनिकले शान्ति सैनिकको गाडीमा ढुङ्गा प्रहार गरेको गम्भीर घटना प्रतिवेदनमा उल्लेख छ । राष्ट्रसंघले यसको विरोध गरेपछि इजरायल रक्षा बलले घटनाको छानबिन गरी औपचारिक रूपमा माफी मागेको पनि राष्ट्रसंघले जनाएको छ ।

प्रतिवेदन अनुसार, मिसनमा हाल तैनाथ नेपाली शान्ति सैनिकले उच्च मनोबलका साथ काम गरिरहेको पनि उल्लेख छ । तनावपूर्ण सुरक्षा स्थितिका बाबजुद नेपाली शान्ति सैनिकहरुको योगदान सबैभन्दा ठूलो रहेको छ ।

राष्ट्रसंघको प्रतिवेदन अनुसार, नेपाली शान्ति सैनिक ४४० जना, उरुग्वे २११ जना, भारत १९६ जना, फिजी १४९ जना र काजाखस्तानका १४२ जना सैनिकहरुले शान्ति स्थापनार्थ काम गरिरहेका छन् । यी शान्ति सेनाहरुले बिस्फोटक पदार्थ निष्क्रिय पार्ने, गस्ती गर्ने र ब्यारेल मर्मत गर्नेजस्ता कामहरु गरिरहेका छन् । शान्ति सैनिकहरुले जोखिमपूर्ण काम गरिरहेको र उनीहरुत्यहाँ रहन आवश्यक रहेको निश्कर्ष निकाल्दै सिरिया र इजरायलको सहमतिमा महासचिव गुटेरेसले मिसनको म्याद थप ६ महिना (जुन ३०, २०२६) सम्म थप गर्न पनि सुरक्षा परिषद् समक्ष सिफारिस गरेका छन् ।

महासचिव गुटेरेसले सम्बन्धित पक्षहरूलाई १९७४ को सम्झौताको पूर्ण पालना गर्न र शान्ति सैनिकहरूको सुरक्षा सुनिश्चित गर्न विशेष आह्वान गरेका छन् ।१९७४ को सम्झौता भनेको इजरायल र सिरियाबीच भएको सेनाहरूलाई अलग गर्ने सम्झौता हो। यो सम्झौता सन् १९७३ को योम किप्पुर युद्धुपछि ३१ मे १९७४ मा हस्ताक्षर गरिएको थियो। यसको मुख्य उद्देश्य दुई देशका सेनाहरूलाई एकअर्काबाट टाढा राख्नु र युद्धविराम कायम गर्नु थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com