वैदेशिक सहायता कटौतीपछि अमेरिकी ‘कमब्याक, संयुक्त राष्ट्रसंघमार्फत २ बिलियन सहयोगको घोषणा
प्रकाशित मिति : पुस १३, २०८२ सोमबार
अमेरिकी विदेश मन्त्रालय । (आधिकारिक विदेश मन्त्रालयको तस्बिर लिन्डा डी एपस्टाइन)
अमेरिकाले आगामी वर्ष एक दर्जनभन्दा बढी देशहरूमा भोकमरी र रोगको जोखिममा रहेका करोडौँ मानिसहरूका लागि २ बिलियन अमेरिकी डलर बराबरको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार सन् २०२५ मा ट्रम्प प्रशासनले वैदेशिक सहायता कटौती गरेपछि उत्पन्न परिस्थितिको पृष्ठभूमिमा सोमबार उक्त सहायता प्रतिबद्धता सार्वजनिक गरिएको हो। यो सहायता संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयमार्फत व्यवस्थापन गरिनेछ।
यस वर्ष अमेरिकाले आफ्ना सहायता कार्यक्रमहरूमा उल्लेखनीय कटौती गरेको छ भने जर्मनीलगायत अन्य प्रमुख पश्चिमी दातृ राष्ट्रहरूले पनि रक्षा खर्च बढाउने नीतिका कारण सहयोग रकम घटाएका छन्। यसले संयुक्त राष्ट्रसंघलाई गम्भीर आर्थिक अभावको सामना गराएको छ।
अमेरिकी विदेश मन्त्रालयले यो संयुक्त राष्ट्रसंघसँग सहमत भई तयार गरिएको सहायता प्रदान गर्ने नयाँ मोडेल भएको जनाएको छ, जसले सहयोग रकमको उपयोग र वितरण प्रणालीलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
संयुक्त राष्ट्रसंघको तथ्याङ्कअनुसार, सन् २०२५ मा संयुक्त राष्ट्रसंघलाई अमेरिकाबाट प्राप्त मानवीय सहयोग घटेर करिब ३ अर्ब ३८ करोड डलरमा सीमित भएको छ, जुन विश्वव्यापी कुल सहयोगको १४ दशमलव ८ प्रतिशत हो। यो अघिल्लो वर्षको १४ अर्ब १० करोड डलरको तुलनामा ठूलो गिरावट हो।
यसैबीच, संयुक्त राष्ट्रसंघले हालै सन् २०२६ का लागि २३ अर्ब डलरको मानवीय सहायता अपिल सार्वजनिक गरेको छ, जसबाट ८ करोड ७० लाख जोखिममा रहेका मानिसलाई सहयोग पुर्याउने लक्ष्य राखिएको छ। दातृ सहयोग घट्दै गए पनि विश्वव्यापी मानवीय आवश्यकता भने उच्च रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख टम फ्लेचरले अमेरिकी घोषणालाई “मानवताका लागि ऐतिहासिक लगानी” भन्दै यसले संयुक्त राष्ट्रसंघको मानवीय सुधारप्रति अन्तर्राष्ट्रिय समुदायको विश्वास झल्काउने बताएका छन्।






