अमेरिकाको नर्सिङ होममा विस्फोट, २ जनाको मृत्यु
प्रकाशित मिति : पुस ७, २०८२ मंगलबार
फोटो: एपी/रासस
अमेरिकाको पेन्सल्भेनिया राज्यस्थित एक नर्सिङ होममा भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ। विस्फोटका कारण भवनको केही भाग भत्किँदा अन्य धेरै जना घाइते भएको अधिकारीहरूले बताएका छन्।
ब्रिस्टलस्थित सिल्भर लेक नर्सिङ होममा ग्यास चुहावट भएको सूचना पाएपछि आपतकालीन सेवाका टोलीहरू घटनास्थल पुगेका थिए। तर, उद्धारकर्मीहरू पुगेलगत्तै भवनमा भीषण विस्फोट भई आगलागी भएको थियो।
घटनामा हालसम्म पाँच जना बेपत्ता छन्। उनीहरू भवनभित्रै फसिरहेका छन् वा अन्यत्र छन् भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन।
केही व्यक्तिहरूलाई सुरक्षित उद्धार गरिएको छ। राज्यका गभर्नर जोस शापिरोले घाइतेहरूको यकिन सङ्ख्या प्राप्त नभएको र विस्फोटको कारणबारे अनुसन्धान भइरहेको जानाकारी दिए ।
स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा आंशिक रूपमा भत्किएको भवनबाट ठूलो आगोको ज्वाला निस्किएको देखिन्छ।
अमेरिका विश्वको विकसित र औद्योगिक राष्ट्र भए तापनि त्यहाँ समय–समयमा यस्ता विस्फोटका घटनाहरू हुने गरेका छन्। यी घटनाहरू प्रायः ग्यास चुहावट, औद्योगिक दुर्घटना, कमजोर भवन संरचना वा मानवीय त्रुटिका कारण हुने गर्छन्।
खासगरी पुराना उपकरण र सुरक्षा मापदण्डको उल्लङ्घनका कारण तेल प्रशोधन केन्द्र, रासायनिक कारखाना र गोदामहरूमा हुने विस्फोटले ठूलो मानवीय तथा आर्थिक क्षति निम्त्याउने गरेको छ।
यस्ता दुर्घटनापछि अमेरिकी सरकारले सुरक्षा नियमहरू कडा बनाउने र ग्यास जाँच प्रणालीमा सुधार गर्ने प्रयास गरे तापनि यस्ता चुनौतीहरू पूर्ण रूपमा नियन्त्रण हुन सकेका छैनन्।






